१५० केजी गाँजासहित ७ जना पक्राउ

spot_img

हेटौंडा,०५ वैशाख । गाँजा बोकेर भारततर्फ गइरहेको अवस्थामा पर्सा राष्ट्रिय निकुन्जका कर्मचारी र निकुन्जमा खटिएका नेपाली सेनाले बुधबार बिहान एक सय ५० केजी गाँजासहित ७ जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट बोकेर नेवारपानीको बाटो पार गर्दै गर्दा मनहरी गाउँपालिकास्थित मध्यवर्ती क्षेत्रमा पर्ने माथिल्लो मसिनेबाट सात जना पक्राउ परेका हुन् ।

हातमा लाइट र पिठ्युमा गाँजाको बोरा बोकेर हिँडेकालाई निकुन्जका टोलीले घेरा हालेर नियन्त्रणमा लिएका थिए । गाँजासहित पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका—३ का सुरेश चेपाङ, राक्सिराङ—७ का १९ वर्षीय टीकाराम चेपाङ, कैलाश गाउँपालिका—४ का २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय हरिकुमार चेपाङ, कैलाश गापाकै २७ वर्षीय वीरमान चेपाङ, मनहरी गाउँपालिका—४ का ४४ वर्षीय रामहरी लुईंटेल र मनहरी गापा—५ का ३६ वर्षीय दीपक थापा मगर रहेका छन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरू भरिया रहेको पत्ता लगाएको छ । राक्सिराङ गाउँपालिकाको सरिखेतबाट तस्करले गाँजा खरिद गरेर उनीहरुलाई नेपाल भारतको सिमानामा पर्ने स्वर्णपूर गाउँमा पुर्‍याउन प्रतिकेजी एक हजार रुपैयाँ ज्याला दिएको पक्राउ परेकाले प्रहरी समक्ष बताएका छन् ।

मकवानपुरको उत्तर पश्चिम र धादिङको किरान्चोकलगायत क्षेत्रमा उत्पादन भएको गाँजा मनहरी गापाको विभिन्न नाका हुँदै पर्सा राष्ट्रिय निकुन्जको जंगलबाट भारत पुर्‍याउने गरिन्छ । बुधबार बिहान बरामद गरिएको गाँजा र नियन्त्रणमा लिएका सात जनालाई कानुनी कारबाही गर्न निकुन्जका सुरक्षाकर्मीले जिल्ला प्रहरी कार्यालय हेटौंडामा बुझाएको प्रहरी उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once