एमालेभित्र एकताको सकारात्मक सन्देश गएको छ : गीता अधिकारी

spot_img

काठमाडौँ ,०६ असोज । नेकपा एमालेकी केन्द्रीय सदस्य गीता अधिकारीले महासचिवको मन्तव्यपछि पार्टीभित्र एकताको सकारात्मक सन्देश प्रवाह भएको बताउनुभएको छ ।

एमाले केन्द्रीय कमिटीको जारी तेस्रो बैठकमा मंगलबार धारणा राख्दै अधिकारीले उपाध्यक्ष र महासचिवलाई धन्यवाद दिँदै अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनलाई पूर्ण समर्थन गर्नुभएको हो । एमालेको जारी बैठकमा निर्वाचन परिणामको समीक्षा, पार्टी पुनर्गठन तथा आगामी राजनीतिक र संगठनात्मक कार्यदिशालगायत विषयमा छलफल भइरहेको छ । अधिकारीले निर्वाचन परिणामको समीक्षा गर्दा बाह्य कारणलाई मात्र आधार नबनाई पार्टीभित्र रहेका संगठनात्मक कमजोरी, जनतासँग बढेको दूरी, युवासँग पर्याप्त संवाद हुन नसकेको अवस्था तथा सञ्चार क्षेत्रमा देखिएका कमजोरीलाई समेत आत्मसमीक्षाको विषय बनाइनु सकारात्मक भएको बताउनुभयो ।

उहाँले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको ‘रियलाईजेशन’ अर्थात् वास्तविकताको बोधलाई अब सुधारको ठोस योजनामा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीभित्र देखिएका कमजोरी पहिचान गरेर त्यसको सुधारका लागि स्पष्ट योजना र कार्यदिशासहित अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । अधिकारीले संगठन सुदृढीकरण, कार्यशैली सुधार, राजनीतिक संस्कारको विकास तथा जनतासँगको सम्बन्ध पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । पार्टीले निर्वाचन परिणामबाट आवश्यक पाठ सिक्दै आगामी दिनमा संगठनलाई थप प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने उहाँको धारणा थियो ।

पार्टीभित्रको आन्तरिक एकता अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै अधिकारीले एकता कार्यकर्ताको तहमा मात्र नभई नेतृत्व तहमा समेत देखिनुपर्नेमा जोड दिनुभयो । सामाजिक सञ्जालमार्फत जिम्मेवारी सामूहिक रूपमा लिने तर अपजस भने अध्यक्षमाथि मात्र थोपर्ने प्रवृत्तिले पार्टीलाई बलियो बनाउन नसक्ने उहाँले बताउनुभयो । उहाँले पार्टीभित्र मतभिन्नता हुनु स्वाभाविक भए पनि त्यसलाई विधि, कमिटी र संस्थागत प्रक्रियामार्फत समाधान गर्ने संस्कार विकास गर्नुपर्ने धारणा राख्नुभयो । व्यक्तिगत असहमतिलाई संस्थागत प्रक्रियाबाट समाधान गर्दै पार्टीको एकता र संगठनात्मक सुदृढीकरणमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

अधिकारीले पार्टीभित्रको बहसलाई आगामी कार्यदिशा निर्माणतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतका कमजोरीको समीक्षा गर्दै त्यसबाट प्राप्त निष्कर्षलाई व्यवहारमा उतार्न र संगठनलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो । ‘आजको हाम्रो प्राथमिकता व्यक्ति होइन, पार्टी; आरोप होइन, आत्मसमीक्षा; विभाजन होइन, एकता; र विगतको बहस मात्र होइन, आगामी दिनको स्पष्ट कार्ययोजना हुनु जरुरी छ,’ अधिकारीले भन्नुभयो ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन तथा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । पार्टीभित्र नेतृत्व र पुनर्गठनका विषयमा विभिन्न धारणा सार्वजनिक भइरहेका बेला केन्द्रीय कमिटी बैठकमा ती विषयमाथि छलफल भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once