समुद्री जैविक विविधता संरक्षणसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट पारित

spot_img

काठमाडौँ,०६ असोज । प्रतिनिधिसभाको बैठकले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्झौता सर्वसम्मतिले अनुमोदन गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त सम्झौता अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्ताव प्रस्तुत गर्दै मन्त्री गौतमले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रमा रहेका जैविक विविधता तथा समुद्री स्रोतको संरक्षण र दिगो प्रयोगका लागि सम्झौता महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सम्झौताले समुद्री पर्यावरणको सुरक्षा गर्नुका साथै समुद्री स्रोतको न्यायोचित तथा दिगो प्रयोगमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री गौतमले प्रस्ताव पेस गरेपछि सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रतिनिधिसभामा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसक्रममा बैठकमा उपस्थित सांसदहरूले प्रस्तावको पक्षमा समर्थन जनाएका थिए । सांसदहरूको सर्वसम्मत समर्थनपछि सभामुख अर्यालले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्झौता सर्वसम्मतिले अनुमोदन भएको घोषणा गर्नुभयो ।

सम्झौता अनुमोदनसँगै राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिर रहेका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण, समुद्री पर्यावरणको सुरक्षा तथा समुद्री स्रोतको दिगो उपयोगका लागि अन्तर्राष्ट्रिय सहकार्यमा नेपालको सहभागिता थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । नेपालले यसअघि नै संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानूनसम्बन्धी महासन्धिको पक्ष राष्ट्रका रूपमा काम गर्दै आएको छ । सोही अन्तर्राष्ट्रिय दायित्व र समुद्री वातावरण तथा जैविक विविधता संरक्षणप्रतिको प्रतिबद्धताको सन्दर्भमा प्रतिनिधिसभाबाट उक्त सम्झौता अनुमोदन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once