वीरगंज (पर्सा), १५ भदौ । बाराको सिमरामा चौथो अन्तराष्ट्रिय जीतपुरसिमरा भेट्रान कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ। सिमरा भेट्रान क्लबको आयोजनामा असोज १ गतेदेखि ५ गतेसम्म सिमरा रंगशालामा यो प्रतियोगिता हुनेछ।
पत्रकार सम्मेलनमा क्लबले दिएको जानकारी अनुसार, प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ, जसमा युनिटी क्लब वीरगञ्ज, हेटौडा भेट्रान क्लब मकवानपुर, चितवन भेट्रान फुटबल क्लब चितवन, रियल फ्रेन्ड भेट्रान सिक्किम, सरस्वती नगर भेट्रान क्लब काठमाडौं, हाम्रो धरान फुटबल क्लब धरान, कटारी टाइगर भेट्रान क्लब कटारी, पोखरा भेट्रान पोखरा, लेजेन्ड भेट्रान्स दार्जिलिङ भारत, क्लिभ हाउस भेट्रान फुटबल क्लब कलकत्ता भारत, र आयोजक सिमरा भेट्रान क्लब सिमरा रहेका छन्। एक टिमको नाम अझै तय हुन बाँकी छ।
प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैया पुरस्कार पाउने छन्। ‘खेलाडीहरुको हौसला एवं प्रोत्साहन, खेलकुद नै राष्ट्र र स्वास्थ्यको आयाम’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो प्रतियोगिता नेपालकै सर्वाधिक धनराशि भएको खेलकुद प्रतियोगिता हो।
क्लबका सचिव हरि चौधरीले यो प्रतियोगिता खेल र खेलाडीलाई प्रोत्साहन गर्ने, खेल क्षेत्रको विकास गर्ने, र आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको बताए। कुल ३२ लाख ५३ हजार रुपैयाको लागतमा आयोजना हुने यस प्रतियोगितालाई सफल बनाउन क्लबका अध्यक्ष राजकपुर राउत विजयको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, नेपाल पत्रकार महासंघ मधेश प्रदेशकी सदस्य लक्ष्मी खरेल, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य विशाल घिमिरे, क्लबका सल्लाहकार संयोजक बिनोद परियार, र सदस्य राजु तिमल्सिनालगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता आयोजक क्लबका अध्यक्ष राजकपुर राउत विजयले गरेका थिए भने स्वागत मन्तव्य क्लबका सल्लाहकार संयोजक बिनोद परियारले व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन क्लबका सदस्य तथा प्रचार प्रसार समितिका संयोजक प्रदिप गौतमले गरेका थिए।





