भारी वर्षाको सम्भावनापछि बागमती प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

spot_img

काठमाडौँ,०६ असोज । बागमती प्रदेश सरकारले आगामी शुक्रबारदेखि आइतबारसम्म प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो। मन्त्रालयले जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई आधार बनाउँदै सम्भावित प्राकृतिक विपद्बाट जोगिन पूर्वतयारी अवस्थामा रहन र जोखिम न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

मौसममा आउने प्रतिकूलताका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम उच्च रहने मन्त्रालयले जनाएको छ। भारी वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। मन्त्रालयले नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भिरालो भूभाग तथा डुबान हुनसक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन आग्रह गरेको छ। जोखिमको अवस्था देखिएमा तत्काल नजिकको सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ।

त्यस्तै, अति आवश्यक नपरी लामो दूरीको यात्रा नगर्न र विशेषगरी रातिको समयमा यात्रा गर्नबाट जोगिन आग्रह गरिएको छ। यात्रा गर्नैपर्ने अवस्था आएमा यात्राअघि सडक र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न मन्त्रालयले अनुरोध गरेको छ। सम्भावित विपद्का बेला बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिनसमेत मन्त्रालयले आग्रह गरेको छ। साथै, पशुपन्छी, खाद्यान्न, औषधि, महत्त्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न नागरिकलाई अनुरोध गरिएको छ।

प्रदेश सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै मातहतका सबै निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन निर्देशन दिएको छ।

जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। सम्भावित भारी वर्षा र त्यसबाट उत्पन्न हुनसक्ने बाढी, पहिरो तथा डुबानको जोखिम न्यूनीकरणका लागि सबै पक्षलाई समन्वय र पूर्वतयारीमा जोड दिन प्रदेश सरकारले आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once