काठमाडौं,१७ मंसिर । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री दीपक खड्का चढेको गाडी धनकुटामा दुर्घटना हुँदा धरान–धनकुटा सडक अवरुद्ध भएको छ। खड्का सवार स्कोरपियो गाडी टिपरसँग ठोकिएर सडकमै थन्किएपछि सडक अवरुद्ध भएको हो। अर्को पनि दुर्घटना एकै ठाउँमा हुँदा तीन वटा गाडी सडकमै रहेकाले सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् ।
सङ्खुवासभाको चैनपुरबाट विराटनगर जाँदै गरेको प्रदेश नं.१–०२–००२ च ३५४५ नम्बरको स्कर्पियो गाडी धनकुटाको साँगुरी गढी गाउँपालिकाको कोल बोटेमा इटहरीबाट धनकुटा आउँदै गरेको प्रदेश नं.२–०३–००१ क १५२१ नम्बरको टिपरसँग ठोकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख कृष्ण कोइरालाले जानकारी दिए।
सडकबाट दुर्घटनाग्रस्त गाडी र ट्रक निकाल्न समस्या भएका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक खुलाउने प्रयास भई रहेको जनाएको छ। शनिवार साँझ खड्का सवार गाडी दुर्घटना भएको थियो। दुर्घटनामा उनी सहित दीपक लिम्बु, लभ कुमार श्रेष्ठ र चालक सहित पाँच जना सवार गाडी थिए । घाइते हुनेमा टिपरका सहचालक सर्लाहीका २२ वर्षीय देवेन्द्र कुसवहाको उपचार भई रहेको छ भने बाँकी सामान्य नै रहेका छन् ।





