त्रिशूली (नुवाकोट),३० भदौ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ।
बाढीपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ विद्युत् केन्द्र र माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोजी नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले गरिरहेको छ। भदौ १० गते आएको बाढीपछि आयोजना केन्द्रित खोज तथा उद्धारमा खटिएको टोलीले थ्री ‘ए’तर्फ सम्भावित स्थानमा खोजी कार्य अन्तिम चरणमा पुर्याएको छ। थ्री ‘बी’तर्फ भने निर्माणाधीन विद्युत् उत्पादन गृहको भवन क्षेत्रमा उत्खनन तथा बाढीले ल्याएको भग्नावशेष हटाउँदै खोजी कार्य जारी राखिएको छ। खोज तथा उद्धारको पछिल्लो अवस्थाबारे जानकारी लिन जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूले आयोजनास्थलको स्थलगत अवलोकन गरेका छन्।
स्थलगत निरीक्षणका क्रममा खोज तथा उद्धारमा भइरहेको प्रगति, देखिएका चुनौती तथा आवश्यक सहजीकरणका विषयमा उद्धारमा खटिएका सुरक्षाकर्मीसँग जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।
थ्री ‘बी’मा ४४ कर्मचारी सम्पर्कविहीन
जिल्ला सुरक्षा समितिलाई माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाका आयोजना प्रमुख आनन्द ढुङ्गेलले दिएको जानकारीअनुसार बाढीपछि आयोजना र परामर्शदाताको तर्फबाट कार्यरत ४४ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। त्यसैगरी आयोजनाको निर्माणमा संलग्न दुईवटा कम्पनीमा आबद्ध चार चिनियाँ नागरिकसहित १४२ जना कर्मचारी तथा कामदार बाढीपछि कार्यक्षेत्रमै फसेको हुनसक्ने आशंकामा खोज तथा उद्धारलाई तीव्र बनाइएको छ। आयोजना प्रमुख ढुङ्गेलका अनुसार कर्मचारी तथा कामदार फसेको हुनसक्ने प्रमुख स्थानका रूपमा प्रशासनिक भवन र पाँचवटा आवासीय भवनमा खोजतलास गरिएको थियो। ती संरचना पुरिएको नभई बाढीले नै बगाएर लगेको पाइएको उनले बताए। सुरुङ मार्गबाट आवतजावत गर्न सहज रहेकाले त्यहाँ पनि खोजी गरिएको थियो। सम्भावित स्थानमध्ये अब विद्युत् उत्पादन गृहका लागि निर्माणाधीन भवन क्षेत्र मात्रै बाँकी रहेकाले खोजी त्यही क्षेत्रमा केन्द्रित गरिएको ढुङ्गेलले बताए।
“सुरुङ मार्गबाट आवतजावत गर्न सहज रहेकाले त्यहाँ पनि खोजी गरियो । अब कर्मचारी तथा कामदार हुनसक्ने सम्भावित स्थानमध्ये विद्युत् उत्पादन गृहका लागि निर्माणाधीन भवन मात्र बाँकी रहेको छ”, उनले भने, “अहिले त्यही हेभी उपकरण प्रयोग गरेर खोज तथा उद्धारलाई तीव्र बनाइएको छ।”
भग्नावशेष हटाउँदै अन्तिम सम्भावित स्थानमा खोजी
खोज तथा उद्धारका लागि उत्खनन भइरहेको निर्माणाधीन भवनको अग्रभागमा पाँचवटा पिल्लर देखिए पनि अन्य संरचना बाढीले बगाएर लगेको पाइएको छ। बाढीले भवन रहेको क्षेत्रलाई नै बगरमा परिणत गरिदिएको छ। हाल सुरक्षाकर्मी तथा प्राविधिक टोलीले हेभी उपकरणको प्रयोग गरी भग्नावशेष हटाउँदै सोही क्षेत्रमा सम्भावित स्थानमा खोजी गरिरहेको छ। त्रिशूली थ्री ‘बी’मा नेपाली सेनाका सेनानी केशव थापाको नेतृत्वमा ८६ जना नेपाली सेना र सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक प्रेमसिंह धामीको नेतृत्वमा १० जना सशस्त्र प्रहरी खोज तथा उद्धारमा खटिएका छन्। विदेशी उद्धार विज्ञसहितको टोलीबाट सुरु गरिएको खोज तथा उद्धार कार्य अहिले जलविद्युत् आयोजनाका प्राविधिक विज्ञहरूको सहयोगमा नेपाली सुरक्षा फौजले अघि बढाइरहेको छ।
सेनानी थापाका अनुसार हराइरहेका कर्मचारी तथा कामदार फसेको हुनसक्ने सम्भावित सबै स्थानमा खोजी गर्दै अहिले निर्माणाधीन विद्युत् उत्पादन गृहको भवन क्षेत्रलाई अन्तिम सम्भावित बिन्दुका रूपमा लिएर उद्धार कार्य भइरहेको छ। “सम्भावित स्थानबाट खोज तथा उद्धार गर्दै आएका छौँ । अहिले विद्युत् उत्पादन गृहका लागि निर्माणाधीन भवन क्षेत्रमा खोजी केन्द्रित गरेका छौँ । आवश्यक उपकरण तथा स्रोतसाधन परिचालन गरी काम भइरहेको छ”, उनले भने। खोज तथा उद्धारमा खटिएको संयुक्त सुरक्षा फौजले नेपाल विद्युत् प्राधिकरण तथा जलविद्युत् क्षेत्रका विज्ञसँग परामर्श गरी आवश्यक यन्त्र–उपकरण र स्रोतसाधन परिचालन गरेको छ। यसअघि थ्री ‘बी’को खोज तथा उद्धारमा चीन, अष्ट्रेलिया, क्यानडा र दुबईबाट आएका सुरक्षाकर्मी तथा उद्धारकर्मीसमेत परिचालन भएका थिए।
दलदले बगर बनेको आयोजना क्षेत्र जोखिमपूर्ण
बाढीका कारण आयोजना क्षेत्र दलदले लेदोसहितको बगरमा परिणत भएकाले खोज तथा उद्धार कार्य जोखिमपूर्ण बनेको छ। भग्नावशेष हटाउँदै सम्भावित स्थानमा खोजी गरिए पनि हालसम्म थप केही पत्ता लाग्न नसकेको बहादुर श्री शेरगण नुवाकोटका गणपति एवं प्रमुख सेनानी आविष्कार ढुङ्गानाले जानकारी दिए। “बाढीका कारण आयोजना क्षेत्र अत्यन्त जोखिमपूर्ण बनेको छ । भग्नावशेष हटाउँदै सम्भावित स्थानमा खोजी भइरहेको छ । हालसम्म थप केही पत्ता लाग्न सकेको छैन”, उनले भने।
थ्री ‘ए’बाट दुई जनाको सकुशल उद्धार
बाढीबाट प्रभावित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् केन्द्रबाट बाढी आएको १० दिनपछि दुई जनालाई सकुशल उद्धार गरिएको थियो। सोही क्रममा पहिचान नखुलेको एउटा शवसमेत फेला परेको थियो। थ्री ‘ए’को विद्युत् उत्पादन गृहसहितको सुरुङ क्षेत्रमा नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले यसअघि नै सम्पूर्ण क्षेत्रमा खोज तथा उद्धार गरिसकेको थियो। त्यस क्रममा थप केही फेला नपरे पनि बाढीबाट क्षतिग्रस्त संरचनाका भग्नावशेष हटाउँदै खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।
बाढीबाट प्रभावित दुवै जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सम्बन्धित प्राविधिक विज्ञहरूको टोली परिचालन गरिएको छ। सम्भावित सबै स्थानमा खोजी जारी राख्दै सुरक्षा फौजले उद्धार कार्यलाई निरन्तरता दिएको छ।




