अशोक यादवको पक्राउविरुद्ध मलंगवामा मसाल जुलुस, ६ जना पक्राउ

spot_img

सर्लाही ,३० भदौ । नेकपाका नेता अशोक यादवको पक्राउको विरोधमा सर्लाही सदरमुकाम मलंगवामा मंगलबार साँझ मसाल जुलुस निकालिएको छ।

यादवको पक्राउलाई लिएर नेकपाका नेता तथा कार्यकर्ताले जिल्ला विकास समितिको तीनबिघे मैदानबाट नगरपालिका चोकतर्फ मसाल जुलुस निकालेका थिए। प्रदर्शनका क्रममा उनीहरूले यादवलाई तत्काल रिहा गर्न माग गर्दै विभिन्न नारासमेत लगाएका थिए।

मसाल जुलुस बालमन्दिर चोक पुगेपछि प्रहरीले प्रदर्शनकारीलाई अघि बढ्न नदिई जुलुस तितरबितर पारेको थियो। त्यस क्रममा प्रदर्शनकारीले प्रहरीविरुद्ध समेत नाराबाजी गरेका थिए।

प्रदर्शनमा सहभागीमध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रदर्शनकारीहरूले यादवको पक्राउलाई राजनीतिक प्रतिशोधका रूपमा चित्रण गर्दै तत्काल रिहाइको माग गरेका थिए। उनीहरूले ‘झुटा मुद्दा खारेज गर’, ‘अशोक यादवलाई रिहा गर’, ‘छानबिन समिति गठन गर’ र ‘राजनीतिक प्रतिशोध बन्द गर’ लगायतका नारा लगाएका थिए।

विभिन्न कसूरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अशोक यादवलाई गत मंगलबार ललितपुरको धापाखेलबाट पक्राउ गरी सर्लाही ल्याइएको हो। प्रहरीका अनुसार उनी कुटपिट, अङ्गभङ्ग तथा आपराधिक उपद्रव मुद्दाका फरार प्रतिवादी हुन्।

सर्लाहीका प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ पौडेलका अनुसार जिल्ला अदालत सर्लाहीले यादवमाथि अनुसन्धानका लागि सुरुमा पाँच दिनको म्याद दिएको थियो। त्यसपछि अदालतबाट थप छ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यादवविरुद्ध राज्यविरुद्धको कसूर, चोरी, केही सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, सार्वजनिक शान्तिविरुद्धको कसुर, आपराधिक प्रवेश र आपराधिक उपद्रवलगायत ११ वटा विभिन्न कसूरमा अनुसन्धान भइरहेको छ।

प्रहरीले यादवलाई विभिन्न मुद्दामा फरार प्रतिवादीका रूपमा खोजी गर्दै आएको र पक्राउपछि कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाइएको जनाएको छ।

गत वर्ष प्रहरी प्रमुखसँगको विवादपछि चर्चामा

अशोक यादव गत वर्ष असारमा तत्कालीन सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँग भएको विवादपछि चर्चामा आएका थिए।

यादवको पक्राउपछि नेकपाका नेता तथा कार्यकर्ताले भने यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले घटनाबारे निष्पक्ष छानबिन गर्न माग गर्दै यादवलाई तत्काल रिहा गर्नुपर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once