काठमाडौँ,१३ मंसिर । महोत्तरीको जलेश्वरमा ३ दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकबाट राजनीतिक दस्तावेजको प्रश्तावना पारित गरिएको छ ।
रास्वपाको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको हो । प्रस्तावनामा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रुपमा चित्रित गरिएको छ ।
पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने रास्वपाको दस्तावेजमा उल्लेख छ । जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्ने रास्वपाको लक्ष्य रहेको केन्द्रीय सदस्य डा. स्वर्णिम वाग्लेले बताए । रास्वपाले पारित गरेको प्रस्तावनामा शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरु प्राप्त गर्ने निर्देशक सिद्धान्त बनाएको उनले बताए । वाग्लेले संसदीय निर्वाचन भएको एक वर्ष भित्र पार्टीको महाधिवेशन गर्नुपर्ने भएकोले मंसिर मसान्त भित्रै महाधिवेशनको प्रक्रिया सुरु गरिने जानकारी दिए । यसका लागि संगठनात्मक स्वरुपको खाका तयार पार्नुका साथै विधान संशोधन चाँडै नै गरिने उनले बताए । ‘राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रुपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रुपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरुविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइनेछ,’ पारित प्रस्तावनामा भनिएको छ । डा. वाग्लेले पार्टीको नीति नरहेको भनेर आलोचना गरिएपनि ती आरोपहरू आलोचना मात्रै भएको बताए । उनले आफ्नो राजनीतिक, सामाजिक र आर्थिक खाका तयार पारेको बताए । उनले मंसिर मसान्तबाट महाधिवेशनको प्रक्रिया सुरु गर्ने बताए ।
बैठकबाट रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय बनेको छ । रास्वपाका १४ जना संसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेपछि केन्द्रीय समिति सदस्यको कुल संख्या ५२ सदस्यीय पुगेको हो । केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा. स्वर्णिम वाग्ले, डा चन्दा कार्की, असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनिता कठायत रहनुभएको छ । यसअघि सांसद रहेका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सोविता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र विन्दवासिनी कंसाकार गरी ६ जना मात्र केन्द्रीय सदस्य थिए ।





