विरगंज,१२ मंसिर । नेपाल सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोषले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई सम्मान गरेको छ ।
देशका महानगरहरूमध्ये वीरगञ्ज महानगरपालिकाले सबैभन्दा पहिला अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सम्झौता गरेकोले कोषले छैंटो सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा सोमबार मेयर सिंहलाई सम्मानित गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मेयर सिंहलाई खादा ओढाएर प्रशंसा पत्रले सम्मान गरेका हुन् ।
नेपाल सरकारको सामाजिक सुरक्षा कोष र वीरगञ्ज महानगरपालिकाबिच अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन महानगर मध्ये वीरगञ्जले पहिलो सम्झौता गरेको कारण सम्मान गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले जानकारी दिए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहित श्रम रोजगार तथा सामाजिक सुरक्षा सुरक्षा मन्त्री भण्डारी, आईएलओका प्रतिनिधि, जिआइजेडका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
नेपालको संविधानको धारा ३४ ले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने संवैधानिक प्रावधानको कार्यान्वयनका लागि वीरगञ्ज महानगरपालिकाले गरेको प्रयास कोसे ढुङ्गा साबित हुने विश्वास आफूले लिएको मेयर सिंहले बताए ।
उनले महानगर क्षेत्र भित्रका सबै श्रमिक तथा रोजगारदाताले श्रम कानुनको पूर्ण परिपालना गरी श्रम बजारलाई आकर्षक, सुरक्षित र उत्पादकत्वलाई टेवा दिने क्षेत्रको रूपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको घोषणा गरे । सिंहले वीरगञ्ज महानगर क्षेत्र भित्रका अनौपचारिक क्षेत्र कृषि, निर्माण, यातायात र घरेलु कामदारमा काम गर्ने श्रमिकलाई महानगरपालिकाद्वारा सह योगदान समेत गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यको सुरुवात यो सम्झौताले गरेको जानकारी दिए ।
अनौपचारिक क्षेत्रका श्रमिकलाई यस योजनामा आबद्ध गराउन बजेट व्यवस्थापन र श्रमिक छनौटको कार्य चाडै अगाडि बढाउने प्रतिबद्धता समेत मेयर सिंहले व्यक्त गरे ।





