Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

अनुगमनका लागि राज्य व्यवस्था समितिका सदस्यहरू भूकम्प प्रभावित क्षेत्रमा

spot_img

काठमाडौँ,२२ कार्तिक । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सदस्यहरू स्थलगत अध्ययन र अनुगमनका लागि जाजरकोट–भूकम्पबाट प्रभावित क्षेत्रतर्फ गएका छन् ।

गत शुक्रबारको भूकम्पपछि उद्धार तथा राहत वितरणको अवस्था बुझ्न र आवश्यक अनुगमन र निर्देशनका लागि उनीहरू आज बिहान सुर्खेतबाट जाजरकोट लागेका हुन् ।

समितिले भूकम्प प्रभावितका लागि उद्धार र राहत वितरण गर्न मुख्य मुकाम तोकिएको सुर्खेतमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहित उपलब्ध सरकारी अधिकारीसँग हालसम्मको खोज, उद्धार, स्वास्थ्य उपचार र राहतबारे जानकारी लिएको सभापति खतिवडाले जानकारी दिए ।

उनले भने “हामीले आज बिहान ८ बजेसम्मको सम्पूर्ण जानकारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सुर्खेतस्थित कर्णाली सरकारका प्रमुख तथा प्रतिनिधि र सुरक्षा र प्रशासनका प्रमुखहरूसँग लिएका थियौँ । अब त्यसबमोजिम नागरिकको उद्धार र राहत वितरणको अवस्थाको अध्ययनका लागि हामी केही क्षणमा जाजरकोट पुग्दैछौँ ।”

सभापति खतिवडाले राहत वितरण एवं आवश्यक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा तयारी हालतमा राखिएको, सबै घाइतेको उपचार भइरहेको, हाल एकजना घाइतेमात्र आइसियुमा रहेका र अहिले अस्पतालमा ९९ जना घाइते उपचाररत रहेका सुर्खेतमा ‘ब्रिफिङ’का क्रममा दिइएको जानकारी दिए । उनका अनुसार सर्खेतमा ब्रिफिङका क्रममा अहिलेसम्म करिब दुई अर्ब ४५ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिइएको थियो ।

त्यस्तै सो भूकम्पबाट ११ हजारभन्दा बढी घरमा आंशिक र १६ हजारभन्दा बढीमा पूर्ण रुपमा क्षति पुगेको भन्दै आफूहरूले ती आंशिक क्षति पुगेका घर पनि सबैजसो ढुंगामाटोको रहेकाले काम नलाग्ने अर्थात् पूर्ण क्षतिको सूचीमा राखेर राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको पनि सभापति खतिवडाले जानकारी दिए ।

अहिलेसम्म करिब ८० प्रतिशत पीडितलाई राहत उपलब्ध गराइएको, उद्धारको काम सकिएकाले अब राहत वितरणका काममा केन्द्रित भएको, आवश्यकताअनुसार कम्तीमा २० जना अट्ने त्रिपाल ठाउँठाउँमा राखेर पीडितलाई सहयोग उपलब्ध गराइएको, चीनले पठाएका राहत सामग्रीहरू पोखराबाट जाजरकोटतर्फ आउँदै गरेका जानकारी गराइएको पनि सभापति खतिवडाले जानकारी दिए ।

जाजरकोट र रुकुम पश्चिमका राहत नपाएका बाँकी सबै प्रभावित पालिकामा आजै राहत सामग्री पुग्ने जानकारी आफूहरूले पाएको उनले बताए । आवश्यक राहत पुर्याउने प्रयोजनका लागि सुर्खेतमा नेपाली सेनाका तीनओटा हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी गराइएको पनि सभापति खतिवडाले बताए ।

उनले भने, “यहाँको अवस्था हेर्दा मान्छे आउने, तस्बिर खिच्ने तथा भीडभाड मात्र गर्ने गरेको पाइएकाले यस्ता कार्य हटाई सबैलाई मानवीय सेवामा लगाउन तथा राहत तथा उद्धारका काममा लागेका सुरक्षाकर्मी तथा उद्धारकर्तालाई अवरोध नगरी सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने देखिएको छ ।”

आफ्नो निजी खर्चमा समितिका सभापति खतिवडा, सदस्यहरू एवं नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू, नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङलगायत सांसद्हरू काठमाडौँबाट सुर्खेत हुँदै आज जाजरकोट पुग्दै छन् ।

गत शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पा जाँदा एक सय ५३ जनाको मृत्यु भएको थियो भने तीन सयभन्दा बढी घाइते भएका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once