बीरगन्ज,०२ कार्तिक । भारतले सरकारले चिनी निर्यातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ ।
यसअघि अक्टोबर ३१ सम्मका चिनीको निर्यातमाथि प्रतिबन्ध लगाएको भारत सरकारले बिहीबार एउटा नोटिस जारी गर्दै अर्को सूचना नभएसम्मका लागि प्रतिबन्धलाई निरन्तरता दिने जनाएको हो ।
भारतीय वैदेशिक व्यापार निर्देशनालयले सूचना जारी गर्दै विभिन्न प्रकारका चीनको निर्यातमा लागेको प्रतिबन्धलाई निरन्तरता दिएको जनाएको छ । यद्यपि यो प्रतिबन्ध युरोप र अमेरिकाका लागि लागु नहुने भएको छ । गएको वर्ष नै कोटा निर्धारण भएको थियो ।
चिनी निर्यातमा भारतले लगाएको प्रतिबन्ध अक्टोबर अन्त्यसँगै खुल्ने र त्यसपछि नेपाली बजारको व्यवस्थापन सहज हुने अनुमान गरिएको थियो । तर भारतले निर्यातमा प्रतिबन्धको निरन्तरता दिएसँगै कठिन हुने देखिएको छ ।
तिहार र छठजस्ता पर्वमा चिनीको उच्च माग हुने गर्छ । दसैँमै चिनीको माग व्यवस्थापन हुन नसक्दा समस्या भएको छ ।





