काठमाडौं । पछिल्लो समय देशका विभिन्न स्थानमा चिकित्समाथि भएको कुटपिटको विरोध गर्दै डाक्टरहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। आज माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल मेडिकल कलेजलगायत काठमाडौं उपत्यकाका डाक्टर सहभागी छन्।
सोमबार पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका थिए। आइतबार राती पनि लमजुङ जिल्ला अस्पतालमा बेंसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले डाक्टर कुटेका थिए। यसअघि गत २७ भदौमा हेटौंडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले दुई जना डाक्टरमाथि कुटपिट गरेका थिए।
कुटपिटको विरोधमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेका चिकित्सकसँग सरकारले ६ बुँदे सम्झौता गरेपछि काममा फर्किएका थिए। कुटपिटको विरोधमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकले आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरेका छन्।
शृंखलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणविरुद्ध आवासीय डाक्टर आन्दोलित भएको अस्पतालका उप–निर्देशक तथा छाती रोग विशेषज्ञ डा.सन्तकुमार दासले बताए। दिनहुँजसो स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि हातपात भइरहेकाले काम गर्ने वातावरण नभएको भन्दै ५ सय आवासीय चिकित्सकले आकस्मिकबाहेक अन्य सेवा ठप्प पारी आन्दोलित भएको उनको भनाइ छ।





