काठमाडौं,०७ असोज । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा नेपालले भारतबाट साढे ३ अर्ब रुपैयाँभन्दा बढी मूल्यको ताजा आलु, प्याज र गोलभेँडा आयात गरेको छ ।
स्वदेशी उत्पादनले बजारको दैनिक माग धान्न नसकेपछि दुई महिनाको अवधिमै ठूलो परिमाणमा यी तीन कृषि उपज भारतबाट आयात गर्नुपरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार साउन र भदौमा मात्रै भारतबाट १ लाख १६ हजार ६ सय ४१ टन आलु, प्याज र गोलभेँडा नेपाल भित्रिएको छ । उक्त परिमाणका तरकारी आयात गर्दा नेपालबाट कुल ३ अर्ब ५२ करोड ७२ लाख ३२ हजार रुपैयाँ बराबरको रकम बाहिरिएको छ । यसबाट सरकारले भने ३१ करोड ७६ लाख ८२ हजार रुपैयाँ बराबर भन्सार राजस्व संकलन गरेको छ ।
आयात भएका यी तीनवटै कृषि उपज शतप्रतिशत भारतबाट मात्र आएको विभागको तथ्यांकमा उल्लेख छ । तीनमध्ये सबैभन्दा ठूलो रकम आलु आयातमा खर्च भएको छ ।
आलु आयातमा पौने २ अर्ब बाहिरियो
साउन र भदौमा भारतबाट १ अर्ब ८५ करोड ७२ लाख १५ हजार रुपैयाँ बराबरको ७३ हजार ८ सय ७९ टन ताजा आलु नेपाल भित्रिएको छ । दुई महिनामै यति ठूलो परिमाणमा आलु आयात हुँदा सरकारले १६ करोड ७२ लाख ९७ हजार रुपैयाँ बराबर भन्सार राजस्व संकलन गरेको छ । आयात भएको परिमाण र मूल्यका आधारमा यी तीन कृषि उपजमध्ये आलुको हिस्सा सबैभन्दा ठूलो देखिएको छ ।
प्याजमा साढे १ अर्ब खर्च
आलुपछि सबैभन्दा बढी रकम प्याज आयातमा बाहिरिएको छ । दुई महिनाको अवधिमा भारतबाट १ अर्ब ४७ करोड ५५ लाख ३९ हजार रुपैयाँ बराबरको ताजा प्याज नेपाल भित्रिएको छ । यस अवधिमा ३५ हजार १ सय ७४ टनभन्दा बढी प्याज आयात भएको छ । प्याज आयातबाट सरकारले १३ करोड २८ लाख ४७ हजार रुपैयाँ बराबर भन्सार राजस्व संकलन गरेको छ । नेपाली भान्सामा दैनिक रूपमा प्रयोग हुने प्याजको माग धान्न ठूलो परिमाणमा भारतमा निर्भर हुनुपरेको तथ्यांकले देखाएको छ ।
गोलभेँडा आयातमा १९ करोडभन्दा बढी बाहिरियो
त्यस्तै, दैनिक उपभोगमा आउने ताजा गोलभेँडाको आयातमा पनि ठूलो रकम विदेशिएको छ । साउन र भदौमा भारतबाट १९ करोड ४४ लाख ७८ हजार रुपैयाँ बराबरको ७ हजार ५ सय ८६ टन ताजा गोलभेँडा नेपाल भित्रिएको छ । गोलभेँडा आयातबाट सरकारले १ करोड ७५ लाख ३८ हजार रुपैयाँ बराबर भन्सार राजस्व प्राप्त गरेको छ । यसरी चालु आर्थिक वर्षको सुरुआती दुई महिनामै आलु, प्याज र गोलभेँडा आयातमा ३ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी रकम भारततर्फ गएको छ । स्वदेशी उत्पादनले बजारको माग धान्न नसक्दा दैनिक उपभोगमा अत्यावश्यक यी कृषि उपजमा नेपाल आयातमा निर्भर रहँदै आएको तथ्यांकले देखाएको छ ।




