पोखरा,०७ असोज । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्ततः नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । फ्लाई दुबईले बुधबारदेखि दुबई–पोखरा–दुबई नियमित उडान थालेसँगै पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएको हो ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स–८ जहाज बुधबार साँझ ६ः१९ बजे १ सय १३ यात्रुसहित पोखरा अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । पोखरा विमानस्थलमा अवतरण गरेको जहाजलाई पानीको फोहराले स्वागत गरिएको थियो । पोखरा आएको फ्लाई दुबईको जहाज नेपाली पाइलट सर्वजित यादवले उडाउनुभएको थियो । सन् २०२२ देखि फ्लाई दुबईमा कार्यरत पाइलट यादव यसअघि नेपालकै विभिन्न वायुसेवा कम्पनीमा कार्यरत रहनुभएको थियो ।
पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत पोखरा आएका यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी तथा पर्यटन क्षेत्रका प्रतिनिधि विमानस्थल पुगेका थिए । नियमित उडान तालिकाअनुसार फ्लाई दुबईको जहाज बुधबार साँझ ७ः१५ बजे १ सय ५३ यात्रुसहित दुबई फर्किने महाप्रबन्धक निरौलाले बताउनुभयो ।
लामो प्रतीक्षाको अन्त्य
सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि केही अन्तर्राष्ट्रिय उडान भएका थिए । तर, ती उडान नियमित हुन सकेका थिएनन् । फ्लाई दुबईले दैनिक नियमित उडान सुरु गरेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनको लामो प्रतीक्षा अन्त्य भएको छ । विमानस्थल व्यवस्थापनका अनुसार फ्लाई दुबईको नियमित उडानले पोखरालाई दुबई हुँदै युरोप, अमेरिका, अष्ट्रेलियालगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने बाटो खोल्नेछ । यसबाट पोखरालाई अन्तर्राष्ट्रिय पर्यटक तथा यात्रुको प्रत्यक्ष हवाई पहुँचमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
फ्लाई दुबई र इमिरेट्सबीच रहेको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत सञ्चालन हुने भएकाले पोखराबाट विदेश जाने यात्रुले दुबई हुँदै विभिन्न गन्तव्यसम्म एउटै टिकटमा यात्रा गर्न सक्ने व्यवस्था हुने बताइएको छ । दुबई फ्लाई दुबईको विश्वव्यापी हवाई सञ्जालको प्रमुख केन्द्र भएकाले पोखराबाट दुबई हुँदै विभिन्न मुलुकमा यात्रा गर्ने यात्रुलाई थप सहजता हुने विमानस्थल व्यवस्थापनको भनाइ छ । यसले पोखराको अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तारसँगै यात्रुको गन्तव्यसम्म पुग्ने विकल्पसमेत फराकिलो बनाउने अपेक्षा गरिएको छ ।
पर्यटन क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखरा र आसपासका प्रमुख पर्यटकीय क्षेत्रले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ । अब विदेशी पर्यटक दुबई हुँदै काठमाडौं नआई सिधै पोखरा आउन सक्नेछन् । पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित रहेकाले सिधा अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तार हुँदा पर्यटक आगमन सहज हुने अपेक्षा गरिएको छ । नियमित अन्तर्राष्ट्रिय उडानले पर्यटन व्यवसायसँगै होटल, रेस्टुरेन्ट, यातायातलगायत पर्यटनसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका क्षेत्रलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने यात्रुलाई पनि पोखराबाटै अन्तर्राष्ट्रिय उडानको सुविधा उपलब्ध भएपछि काठमाडौं पुग्नुपर्ने बाध्यता कम हुने विमानस्थलका महाप्रबन्धक निरौलाले बताउनुभयो ।
उडान आकर्षित गर्न शुल्कमा छुट
फ्लाई दुबईको नियमित उडानलाई आकर्षित गर्न सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुटसमेत दिएको छ । सरकारले २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । त्यस्तै ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । पोखरा–दुबई नियमित उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाई दुबईलाई उडान अनुमति दिएको थियो । अनुमति पाएसँगै नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको थियो ।
दैनिक उडान
फ्लाई दुबईले सुरु गरेको पोखरा–दुबई नियमित उडान दैनिक सञ्चालन हुनेछ । उडान तालिकाअनुसार जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले लामो समयदेखि प्रतीक्षा गरिरहेको अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनको नयाँ चरणमा प्रवेश गरेको छ । दैनिक उडानमार्फत पोखरालाई दुबई हुँदै विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने भएकाले यसले पोखराको पर्यटन, अन्तर्राष्ट्रिय यात्राको पहुँच तथा विमानस्थलको व्यावसायिक सञ्चालनमा समेत नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ ।




