महोत्तरी,०७ असोज । मौसममा हुनसक्ने प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले सर्वसाधारणलाई पूर्वसचेत र सुरक्षित रहन सार्वजनिक अपिल गरेको छ ।
मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यही असोज ९ गते शुक्रबारदेखि लगातार तीन दिन मधेस प्रदेशका विभिन्न क्षेत्रमा हावाहुरीसहित मेघगर्जन, चट्याङ र भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सचेत गराएको हो । प्रशासनले सम्भावित वर्षा र त्यसबाट निम्तिन सक्ने बाढी, डुबानलगायतका विपद्का घटनालाई ध्यानमा राख्दै स्थानीय तह, नेपाल रेडक्रसलगायत सामाजिक सङ्घसंस्था, प्रहरी तथा आमनागरिक समाजलाई समेत सतर्क र तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि समयमै पूर्वसचेतना अपनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, सामाजिक सङ्घसंस्था र नागरिक समाजबीच आवश्यक समन्वय तथा सचेतना भएमा सम्भावित क्षतिलाई धेरै हदसम्म रोक्न सकिन्छ ।
“जिल्लामा विपद्का बेला जनधनको क्षति भएको हामीसँग विगत अनुभव छ, त्यसबाट शिक्षा लिँदै अब सचेत रहन आवश्यक छ,” प्रजिअ यादवले आज सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो । महोत्तरीमा विगतमा विभिन्न नदी तथा खोलामा आएको बाढी बस्तीमा पस्दा डुबानको समस्या हुने गरेको छ । जिल्लाका रातु, मडहा, बाँके, जङ्घा, बिग्ही र कुटमेश्वरीलगायत नदीमा आएको बाढी बस्तीमा प्रवेश गरी डुबान गराएका घटना विगतमा भएका छन् ।
विगतका यस्ता घटनालाई ध्यानमा राख्दै यसपटक सम्भावित भारी वर्षाका कारण हुनसक्ने जोखिमप्रति समयमै सचेत हुन प्रशासनले आग्रह गरेको हो । विशेषगरी नदी तथा खोला आसपासका बस्ती र डुबानको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न र आवश्यक सावधानी अपनाउनुपर्ने प्रशासनको आग्रह छ ।
प्रतिकूल मौसमको अवस्थामा हावाहुरी, मेघगर्जन र चट्याङबाट समेत जोखिम हुनसक्ने भएकाले सर्वसाधारणले अनावश्यक रूपमा घरबाहिर ननिस्कन तथा सम्भावित जोखिमयुक्त स्थानमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन आवश्यक रहेको प्रशासनले जनाएको छ । सम्भावित विपद्को अवस्थामा स्थानीय तह, प्रहरी, रेडक्रसलगायत सम्बन्धित निकायसँग समन्वय गरी उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउनुपर्नेमा समेत प्रशासनले जोड दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले मौसम पूर्वानुमानअनुसार आगामी दिनमा देखिन सक्ने जोखिमलाई सामान्य रूपमा नलिई पूर्वतयारी र सतर्कता अपनाउन सर्वसाधारण, स्थानीय तह, सुरक्षा निकाय तथा सामाजिक सङ्घसंस्थालाई आग्रह गरेको छ ।




