वीरगंज,४ भदौ । बिरामीको उपचारका लागि आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई छुट्टाछुट्टै रक्तदान शिविर आयोजना गरेको छ ।
‘सेवा, संस्कार र संगठन’को भावनालाई आत्मसात् गर्दै आयोजित दुवै शिविरमा गरी कुल ६५ जनाले रक्तदान गरेका छन् । आयोजकका अनुसार बिरामीको उपचारमा आवश्यक रगतको आपूर्ति सहज बनाउन तथा समुदायमा रक्तदान र सामाजिक सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । तेरापन्थ युवक परिषद् वीरगंज–नेपालको आयोजनामा भएको पहिलो रक्तदान शिविर हुलास हिपको–लालपर्साको सहयोगमा सम्पन्न भएको थियो । उक्त शिविरमा ५० जनाले रक्तदान गरेका थिए । शिविरमा हुलास हिपकोका कमर्शियल जनरल म्यानेजर रवि सिन्हाको समेत उपस्थिति रहेको थियो ।
त्यसैगरी, तेरापन्थ जैन भवनमा विशेष महिला रक्तदान शिविर आयोजना गरिएको थियो । नेपाल अग्रवाल महिला मञ्चसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरमा १५ जना महिलाले रक्तदान गरेका छन् । शिविरमा मञ्चकी अध्यक्ष नूतन सरावगीसहित उनको टोलीको सहभागिता रहेको थियो ।एकै दिन दुई स्थानमा आयोजना गरिएका रक्तदान कार्यक्रममार्फत संकलित रगतले बिरामीको उपचारमा आवश्यक रगतको आपूर्ति सहज बनाउन सहयोग पुग्ने आयोजकले जनाएको छ । नियमित रक्तदानले आकस्मिक अवस्था तथा उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने भएकाले सामाजिक सेवाका रूपमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिइएको आयोजकको भनाइ छ ।
कार्यक्रममा तेरापन्थ युवक परिषद्का अध्यक्ष सुनील दुगड, रक्तदान संयोजक सौरभ भुटोरिया, ‘रक्तदान अन कल’का आशीष चोरडिया, पंकज बैद र अनिल बैदलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । आयोजकले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदानलाई प्रोत्साहन गर्दै समुदायका विभिन्न वर्ग र समूहको सहभागितामा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।




