काठमाडौँ,०६ असोज । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ तथा वितरण प्रक्रियालाई थप व्यवस्थित, छिटो र सहज बनाउने उद्देश्यले सरकारका तीन निकायबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतासँगै अब सेवाग्राहीले सम्बन्धित यातायात कार्यालयबाट मात्र नभई आफूले चाहेको ठेगानामा, घरमै समेत लाइसेन्स प्राप्त गर्न सक्ने भएका छन् ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल फेसबुकमार्फत सम्झौताबारे जानकारी दिनुभएको हो । उहाँका अनुसार मंगलबार पूर्वाधार विकास मन्त्रालयमा यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच लाइसेन्स छपाइ तथा वितरणसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार यातायात व्यवस्था विभागद्वारा सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (EDLVRS) मार्फत जारी हुने लाइसेन्सको डाटा अब सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पठाइनेछ । यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएपछि सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छपाइको काम गर्ने व्यवस्था मिलाइएको छ ।
यसअघि लाइसेन्सको डाटा आदानप्रदान तथा छपाइ प्रक्रियामा देखिँदै आएका प्राविधिक झन्झट र प्रक्रियागत ढिलाइ कम हुने अपेक्षा गरिएको छ । डाटा सोझै सम्बन्धित प्रणालीमा पठाउने व्यवस्थाले लाइसेन्स छपाइका लागि लाग्ने समयसमेत बचत हुने बताइएको छ । सुरक्षण मुद्रण केन्द्रमा छपाइ भएका लाइसेन्सलाई हुलाक सेवा विभागमार्फत सेवाग्राहीसम्म पुर्याउने व्यवस्था गरिएको छ । यससँगै लाइसेन्स वितरणका लागि सेवाग्राहीले सम्बन्धित कार्यालयमै पुगेर लामो समय कुर्नुपर्ने अवस्थालाई समेत सहज बनाउने लक्ष्य राखिएको छ ।
मन्त्री लम्सालका अनुसार EDLVRS प्रणालीबाट जारी भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा पठाइनेछ र त्यहाँबाट वितरण गरिनेछ । प्रदेश कार्यालयमार्फत नियमित वितरणको व्यवस्था भए पनि सेवाग्राहीले चाहेमा आफ्नो इच्छाअनुसारको ठेगानामा लाइसेन्स पुर्याउन सकिने व्यवस्था समेत सम्झौताले सुनिश्चित गरेको छ ।
नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न यातायात कार्यालय धाउनुपर्ने बाध्यता कम हुने र हुलाक सेवामार्फत आफूले रोजेको ठेगानामै लाइसेन्स प्राप्त गर्ने सुविधा उपलब्ध हुनेछ । यसले लाइसेन्स छपाइदेखि वितरणसम्मको प्रक्रियालाई थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ ।




