काठमाडौँ,०६ असोज । ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने ४७ वर्षीय सरोज नेम्कुल रहेका छन् ।
नेम्कुललाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको पसलमा रहेका ग्यास सिलिन्डरको सिल खोलेर ग्यास लुकाएको आरोपमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार नेम्कुलले आफ्नो पसलमा रहेका सिलिन्डरको सिल खोलेर ‘सबै सिलिन्डर रित्तो हो’ भन्दै ग्यास लुकाउने गरेको आरोप छ । बजारमा ग्यासको अभाव वा आपूर्ति प्रभावित भएको अवस्थामा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने उद्देश्यले ग्यास लुकाइएको हुनसक्ने प्रहरीको प्रारम्भिक भनाइ रहेको छ ।
प्रहरीले नेम्कुलले सञ्चालन गर्दै आएको सिद्धिपुर ग्यास स्टोर मा छापा मारेर ग्यास सिलिन्डर बरामद गरेको जनाएको छ । पसलबाट दुई वटा सिलसहितका सिलिन्डर र सिल नभएका तर ग्यास भरिएका २२ वटा सिलिन्डर बरामद गरिएको प्रहरीले बताएको छ । बरामद भएका सिलिन्डरमा सिल नभएको अवस्थामा समेत ग्यास भरिएको पाइएपछि प्रहरीले घटनालाई कालोबजारीसँग जोडेर अनुसन्धान अघि बढाएको हो । सामान्य अवस्थामा बिक्रीका लागि राखिएका सिलिन्डरको सिल खोलेर ग्यास लुकाउने र ती सिलिन्डर रित्तो भएको बताउने गरेको आरोपमा नेम्कुलमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका नेम्कुलमाथि ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको आरोपमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।




