नुवाकोट,४ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका करिब ३०० परिवारलाई खाद्यान्नसहित विभिन्न राहत सामग्री उपलब्ध गराइएको छ। पूर्वमन्त्री भगबती चौधरीको पहलमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नेशनल भोलेन्टियर्सको समन्वयमा प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराएको हो।
विदुर नगरपालिका–५ का ४१ परिवारसहित वडा नं. १ लगायतका बाढी प्रभावित क्षेत्रका करिब ३०० परिवारलाई लक्षित गरी राहत सामग्री वितरण गरिएको हो। राहत सामग्रीमा चामल, ब्ल्याङ्केट, सरसफाइका सामग्री, कित्ली तथा दैनिक जीवनमा आवश्यक पर्ने अन्य सामग्री रहेका छन्। बाढीबाट प्रभावित भई होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि समेत राहत सामग्री उपलब्ध गराइएको जनाइएको छ। प्रभावित परिवारको आवश्यकता र अवस्थाका आधारमा राहत सामग्री उनीहरूसम्म पुर्याइने जनाइएको छ। राहत वितरण तथा प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा पूर्वमन्त्री चौधरीसँगै फरवार्ड माइक्रोफाइनान्सको टोली र इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी सहभागी थिए।
टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिनुका साथै पीडित परिवारसँग प्रत्यक्ष भेट गरेको थियो। भेटका क्रममा प्रभावित परिवारले बाढीपछि आफूहरूले भोग्दै आएका समस्या, राहतको अवस्था तथा तत्काल आवश्यक पर्ने सामग्रीबारे टोलीलाई जानकारी गराएका थिए। बाढीपीडित स्थानीयले विपद्पछि आफ्नो व्यवस्थापन तथा पुनर्स्थापनाका लागि सरकारले अपेक्षाअनुसार पहल नगरेको गुनासो गरेका छन्। उनीहरूका अनुसार बाढीपछि अस्थायी आवासदेखि खाद्यान्न, कपडा र दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीसम्म सामाजिक संघसंस्था तथा स्वयंसेवी समूहको सहयोगमा जुटाउनुपर्ने अवस्था रहेको छ।
बाढीका कारण घर तथा सम्पत्तिमा क्षति पुगेपछि विस्थापित भएका परिवारका लागि तत्काल राहतसँगै सुरक्षित र स्थायी बसोबासको व्यवस्था प्रमुख आवश्यकता रहेको पीडितहरूले बताएका छन्। उनीहरूले लामो समयसम्म अस्थायी व्यवस्थामा बस्नुपर्ने अवस्था आउन नदिन सुरक्षित स्थानमा स्थायी पुनर्स्थापनाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। पीडित परिवारको अवस्था तथा गुनासो सुनेपछि पूर्वमन्त्री चौधरीले सरकारले उपयुक्त जग्गा उपलब्ध गराए बाढीपीडितका लागि केही घर निर्माण गर्न आवश्यक पहल तथा समन्वय गर्ने बताइन्। उनले विपद्पछिको राहत वितरणमा मात्र सीमित नभई प्रभावित परिवारलाई सुरक्षित आवाससहित दीर्घकालीन रूपमा पुनर्स्थापित गर्नुपर्ने आवश्यकता औँल्याइन्।
बाढीबाट विस्थापित परिवारको अस्थायी बसोबासलाई सहज बनाउन थप ५०० थान टेन्ट केही दिनभित्र वितरण गर्ने तयारीसमेत गरिएको छ। नेशनल भोलेन्टियर्सलगायत सम्बन्धित पक्षको समन्वयमा ती टेन्ट आवश्यकताका आधारमा प्रभावित परिवारसम्म पुर्याइने जनाइएको छ। यसअघि फरवार्ड माइक्रोफाइनान्सले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकारको राहत कोषमा ३० लाख ६ सय ६५ रुपैयाँ सहयोग गरेको थियो। सरकारको राहत कोषमा आर्थिक सहयोग गरेपछि संस्थाले प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न प्रत्यक्ष रूपमा राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेको हो।
राहत सामग्री वितरणसँगै प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्ने र पीडित परिवारका समस्या सुन्ने कार्यले बाढीपछिको पुनर्स्थापनाका लागि आवश्यकताअनुसार सहयोग पहिचान गर्नसमेत सहयोग पुग्ने सहभागीहरूले बताएका छन्। बाढीपीडितको तत्कालीन आवश्यकता पूरा गर्नुका साथै सुरक्षित आवास र दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार, स्थानीय तह, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा स्वयंसेवी समूहबीच प्रभावकारी समन्वय आवश्यक रहेको सहभागीहरूको भनाइ छ। तत्काल राहतसँगै विस्थापित परिवारको सुरक्षित र स्थायी पुनर्स्थापनालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।




