काठमाडौँ,२९ भदौ । हरितालिका तीज पर्वका अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा घुइँचो लागेको छ । विशेषगरी हरितालिका व्रत बसेका महिला भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरेको जनाएको छ ।
भक्तजनलाई व्यवस्थित र सहज रूपमा दर्शन गराउने उद्देश्यले कोषले मन्दिर प्रवेशका लागि चारवटा छुट्टाछुट्टै दर्शन मार्गको व्यवस्था गरेको छ । ती मार्गमार्फत भक्तजनलाई मन्दिरसम्म पुर्याएर दर्शन गराई छुट्टै बाटोबाट बाहिरिने व्यवस्था मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । कोषका अनुसार पहिलो दर्शन मार्ग मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट अघि बढ्ने व्यवस्था गरिएको छ । उक्त मार्गबाट आउने भक्तजनलाई पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्याम्पबाट भगवान् पशुपतिनाथको दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको छ ।
त्यस्तै, दोस्रो दर्शन मार्ग जयवागेश्वरीबाट सुरु हुन्छ । जयवागेश्वरीबाट देब्रेतर्फको मार्ग हुँदै दथुटोल, पाचा गणेश, अन्नपूर्णभण्डार हुँदै महास्नानघरअघिको नं. १ ढोकाअघि राखिएको आकासे पुलबाट भक्तजनलाई भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकासे पुलतर्फ लगिने व्यवस्था गरिएको छ । त्यहाँ प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइनमा भक्तजनलाई प्रवेश गराई पशुपतिनाथ मन्दिरको पश्चिमतर्फ रहेको काठको र्याम्पबाट दर्शन गराएर पश्चिम ढोकाबाट बाहिर निकाल्ने व्यवस्था गरिएको छ ।
तेस्रो दर्शन मार्ग सिनामङ्गल तथा विमानस्थलतर्फबाट आउने भक्तजनका लागि व्यवस्था गरिएको छ । तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोकाबाट प्रवेश गर्ने भक्तजनलाई राम मन्दिर, वाग्मती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनालसम्म पुर्याइनेछ । त्यसपछि पूर्वढोकामा राखिएको र्याम्पबाट भगवान् पशुपतिनाथको पूर्व मुहारको दर्शन गराई सोही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको कोषले जनाएको छ । यसैगरी, पिङ्गलास्थानतर्फबाट आउने दर्शनार्थीका लागि पनि छुट्टै मार्ग तोकिएको छ । पिङ्गलास्थानमा रहेको ढोकाबाट प्रवेश गरी चार शिवालय–पञ्चदेवल वृद्धाश्रमको दक्षिणतर्फ रहेको ठूलो ढोकाअघि बनाइएको अस्थायी आकासे पुल हुँदै सानो ढोकाबाट भक्तजनलाई प्रवेश गराइनेछ । त्यसपछि चौँसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन गराएर उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवासअघिबाट फर्कने व्यवस्था गरिएको छ ।
आधा घण्टामै दर्शन गरेर फर्कन सकिने अवस्था
बिहानको समयमा पशुपति क्षेत्रमा भक्तजनले व्यवस्थित रूपमा लाममा बसेर भगवान् पशुपतिनाथको दर्शन गरिरहेका छन् । कोषका अनुसार बिहानको समयमा लाममा बसेको करिब आधा घण्टामै व्रतालुले दर्शन गरेर फर्कन सक्ने अवस्था रहेको छ । भदौरे झरी परिरहेको भए पनि भक्तजनको उत्साहमा कमी आएको छैन । बिहानैदेखि वर्षाको परवाह नगरी महिला व्रतालुसहित अन्य भक्तजन लाममा बसेर भगवान् पशुपतिनाथको दर्शन गरिरहेका छन् ।
हरितालिका तीजका अवसरमा पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । कोषका अनुसार भक्तजनको सुरक्षा, भीड व्यवस्थापन तथा दर्शनलाई सहज बनाउन चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तै, २४ वटा धार्मिक तथा सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक पनि पशुपति क्षेत्रमा खटिएका छन् ।
विभिन्न स्थानमा चन्दन वितरण
पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि विभिन्न स्थानमा चन्दन वितरणको व्यवस्था पनि गरिएको छ । सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा चन्दन वितरणको व्यवस्था मिलाइएको कोषले जनाएको छ । हरितालिका तीज विशेषगरी हिन्दु महिलाहरूले श्रद्धा र भक्तिपूर्वक मनाउने महत्वपूर्ण पर्व हो । यस अवसरमा व्रतालु महिलाहरू भगवान् शिवको पूजा–आराधना गर्दै पशुपतिनाथलगायत विभिन्न शिवालयमा पुगेर दर्शन गर्ने गर्दछन् ।
देशभरका शिवालयमा भक्तजनको भीड
हरितालिका पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथमा मात्रै नभई देशभरका विभिन्न शिवालयमा पनि पूजा तथा दर्शन गर्न भक्तजनको भीड लागेको छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, ‘सानो पशुपतिनाथ’का रूपमा चिनिने वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायतका प्रमुख महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको जनाइएको छ ।
पशुपतिनाथ क्षेत्रमा दर्शनार्थीको सहजता, सुरक्षा तथा भीड व्यवस्थापनका लागि छुट्टाछुट्टै प्रवेश मार्ग, र्याम्प, आकासे पुल तथा बाहिरिने मार्गको व्यवस्था गरिएकाले भक्तजनलाई व्यवस्थित रूपमा दर्शन गराउने प्रयास गरिएको छ । वर्षाका बीच पनि बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ ।




