काठमाडौं,२७ भदौ । कृत्रिम बौद्धिकता (एआई) को प्रयोग प्रविधि र उत्पादकत्व बढाउने क्षेत्रमा मात्र सीमित नरही साइबर अपराध, जासुसी, सूचना हेरफेर, ठगी तथा प्रतिस्पर्धी एआई मोडल विकासमा समेत हुन थालेको दाबी गरिएको छ।
एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा ‘क्लड’ को दुरुपयोग गरी यस्ता गतिविधि सञ्चालन भएको जनाएको हो। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला आठ महिनामा पहिचान तथा अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरिएको छ। रिपोर्टमा समेटिएका घटनाहरू डिसेम्बर २०२५ देखि अगस्ट २०२६ सम्मका हुन्।
रिपोर्टअनुसार एआईको प्रयोग अब सामान्य प्रश्नोत्तर, सामग्री लेखन वा कोड निर्माणमा मात्र सीमित छैन। आक्रमणकारीहरूले एआईको सहयोगमा लक्ष्य पहिचान गर्ने, इन्टरनेटमा खुलेका प्रणाली खोज्ने, सुरक्षा कमजोरी पत्ता लगाउने, मालवेयर निर्माण गर्ने, फिसिङ अभियान सञ्चालन गर्ने, चोरी गरिएको डेटा व्यवस्थापन गर्ने तथा सामाजिक सञ्जालमार्फत नक्कली सूचना फैलाउने कामसमेत गर्न थालेका छन्। एन्थ्रोपिकले एआईको भूमिकालाई ‘सहयोगी’ बाट ‘एजेन्ट’ बन्नेतर्फ अघि बढिरहेको प्रवृत्तिका रूपमा व्याख्या गरेको छ। यसको अर्थ मानिसले लक्ष्य र निर्देशन दिएपछि एआईले अनुसन्धान, परीक्षण, सूचना सङ्कलन तथा अन्य धेरै चरण आफैं सञ्चालन गर्न सक्ने अवस्थामा पुगेको हो।
आक्रमणकारीको क्षमता बढाउँदै एआई
एन्थ्रोपिकका अनुसार एआईका कारण जटिल साइबर हमला गर्न आवश्यक पर्ने जनशक्ति र प्राविधिक सीपको आवश्यकता घट्दै गएको छ। पहिले ठूलो साइबर हमला सञ्चालन गर्न ठूलो बजेट, दक्ष प्राविधिक जनशक्ति र लामो तयारी आवश्यक पर्थ्यो। अहिले भने एक जना वा सानो समूहले एआईको सहयोगमा पहिले धेरै मानिसले गर्नुपर्ने काम छोटो समयमा पूरा गर्न सक्ने अवस्था देखिएको कम्पनीको दाबी छ। एआईले साइबर हमलाका लगभग सबै चरणमा आक्रमणकारीलाई सहयोग गर्न थालेको रिपोर्टमा उल्लेख छ। लक्ष्यको प्रारम्भिक अध्ययनदेखि इन्टरनेटमा खुलेका प्रणाली खोज्ने, सुरक्षा कमजोरी पहिचान गर्ने, फिसिङ सामग्री तयार गर्ने, मालवेयर विकास गर्ने, चोरी गरिएका प्रमाण प्रयोग गरी प्रणालीभित्र प्रवेश गर्ने र डेटा बाहिर पठाउनेसम्मका काममा एआई प्रयोग भइरहेको कम्पनीले जनाएको छ। एन्थ्रोपिकले कतिपय गतिविधिलाई सामान्य ‘एआई सहयोगी साइबर हमला’ भन्दा अघि बढेर ‘एआई सञ्चालित साइबर अभियान’ का रूपमा वर्गीकरण गरेको छ। यस्ता अभियानमा मानिसले मुख्य लक्ष्य छनोट गरे पनि बाँकी धेरै काम एआई एजेन्टले स्वचालित रूपमा गर्ने गरेको रिपोर्टमा उल्लेख छ।
रुससँग सम्बन्धित मानिएको एआई साइबर जासुसी
रिपोर्टमा एन्थ्रोपिकले जीटीजी-२०००६ नाम दिएको गतिविधिले एआई प्रयोग गरी युक्रेन, युरोप तथा अन्य क्षेत्रका सरकारी र रक्षा निकायलाई लक्षित गरेको उल्लेख छ। एन्थ्रोपिकले उक्त समूहको गतिविधि सार्वजनिक रिपोर्टमा माइक्रोसफ्टसँग जोडिएको ‘मिडनाइट ब्लिजार्ड’ समूहसँग मिल्दोजुल्दो रहेको जनाएको छ। मिडनाइट ब्लिजार्डलाई रुसी प्रायोजित साइबर जासुसी समूहका रूपमा चिनिन्छ। एन्थ्रोपिकले उक्त गतिविधिलाई रुसी राज्यसँग सम्बन्धित हुन सक्ने साइबर जासुसी समूहका रूपमा वर्गीकरण गरेको हो। समूहले एआई प्रयोग गरेर सरकारी मन्त्रालय, रक्षा तथा गुप्तचर निकाय, दूतावास, कूटनीतिक संस्था, अनुसन्धान संस्था र रक्षा सामग्री उत्पादन गर्ने कम्पनीलाई लक्षित गरेको कम्पनीको दाबी छ।
एआईको प्रयोगबाट इमेल तथा रिमोट एक्सेस प्रणालीको अध्ययन गर्ने, सम्भावित लक्ष्यको सूची बनाउने र फिसिङ अभियानका लागि आवश्यक पूर्वाधार तयार गर्ने काम भएको रिपोर्टमा उल्लेख छ। आक्रमणका क्रममा प्रयोग गरिएका उपकरण सुरक्षा प्रणालीबाट पहिचान भएमा एआई एजेन्टले तिनलाई परिमार्जन गरी पुनर्निर्माण गर्ने गरेको पनि रिपोर्टमा जनाइएको छ। अर्थात् कुनै मालवेयर सुरक्षा प्रणालीबाट पहिचान भएमा आक्रमणकारीले म्यानुअल रूपमा कोड परिवर्तन गरिरहनुपर्ने अवस्था घटेको छ। एआई एजेन्टले पहिचानको कारण विश्लेषण गरी मालवेयर परिमार्जन गर्ने र पुनः प्रयोग गर्न सक्ने देखिएको छ। रिपोर्टअनुसार उक्त समूहले २० भन्दा बढी संस्थालाई लक्षित गरेको थियो। युक्रेनी सरकार, सेना तथा कूटनीतिक निकायका इमेल प्रणालीमा अनधिकृत पहुँच बनाउने प्रयास गरिएको थियो। त्यस्तै, ड्रोन उत्पादन तथा आपूर्ति शृङ्खलासँग सम्बन्धित कम्पनीबाट प्राविधिक कागजात र सफ्टवेयरसम्बन्धी जानकारी चोरी गर्ने प्रयाससमेत भएको एन्थ्रोपिकको दाबी छ।
फिसिङदेखि डेटा चोरीसम्म
एन्थ्रोपिकका अनुसार उक्त समूहले होटेलको वाइफाई सेवा सञ्चालन गर्ने कम्पनीलाई समेत निशाना बनाएको थियो। ती कम्पनीका प्रणालीमा पहुँच बनाएर होटेलमा जोडिएका प्रयोगकर्ताको ट्राफिक र उपकरणसम्बन्धी जानकारी सङ्कलन गरिएको थियो। आक्रमणकारीहरूले डोमेन नेम सिस्टम (डीएनएस) नै परिवर्तन गरी प्रयोगकर्तालाई नक्कली वेबसाइटमा पुर्याउने प्रयाससमेत गरेको रिपोर्टमा उल्लेख छ। त्यसपछि नक्कली अपडेट वा अन्य सामाजिक इन्जिनियरिङका माध्यमबाट विन्डोज, एन्ड्रोइड तथा आईओएस उपकरणमा मालवेयर पठाइएको थियो।
ह्वाट्सएप अकाउन्टमा समेत पहुँच बनाउने प्रयास भएको रिपोर्टमा उल्लेख छ। आक्रमणकारीहरूले पीडितको ह्वाट्सएप अकाउन्टलाई अर्को उपकरणसँग जोडेर म्यासेज तथा कुराकानी सङ्कलन गर्ने प्रयास गरेका थिए। कम्तीमा दुई जना पूर्वउच्चपदस्थ युक्रेनी अधिकारीलाई यसरी लक्षित गरिएको एन्थ्रोपिकको दाबी छ। त्यस्तै, उत्तर अफ्रिकाको एउटा सरकारी प्रविधि निकायमा भएको आक्रमणमा तीन लाखभन्दा बढी राष्ट्रिय परिचयसम्बन्धी विवरण र पाँच लाखभन्दा बढी कम्पनीको व्यावसायिक दर्ता विवरण चोरी भएको रिपोर्टमा उल्लेख छ। एआई प्रयोग गरेर चोरी गरिएको ठूलो परिमाणको डेटा छुट्याउने, वर्गीकरण गर्ने तथा बाहिर पठाउने कामसमेत भएको एन्थ्रोपिकले जनाएको छ। कम्पनीका अनुसार पहिले आक्रमणकारीले डेटा सङ्कलन गरेपछि त्यसलाई व्यवस्थापन गर्न मानिसहरूको ठूलो समूह आवश्यक पर्थ्यो। अहिले एआईले त्यस्तो कामलाई छिटो र स्वचालित बनाइदिएको छ।
एक जना आक्रमणकारी, दर्जनौं लक्ष्य
रिपोर्टमा ‘जीटीजी-१०००७’ नाम दिइएको अर्को अभियानमा चिनियाँ भाषी आक्रमणकारीहरूले एआईलाई साइबर हमला तथा सुरक्षा कमजोरी खोज्ने मुख्य उपकरणका रूपमा प्रयोग गरेको उल्लेख छ। एन्थ्रोपिकका अनुसार उक्त समूह चीनको हुनान प्रान्तस्थित चाङ्सा क्षेत्रमा रहेको हुन सक्ने देखिएको थियो। समूहमा विश्वविद्यालयका विद्यार्थीसमेत संलग्न रहेको कम्पनीको आकलन छ। उनीहरूले एआईलाई विभिन्न कामका लागि छुट्टाछुट्टै जिम्मेवारी दिने गरी प्रयोग गरेका थिए। एउटा एआई एजेन्टले विदेशी सरकारी नेटवर्कको प्रारम्भिक अध्ययन गर्ने, अर्कोले सुरक्षा उपकरणका कमजोरी खोज्ने, अर्कोले मालवेयर विकास गर्ने तथा अर्कोले ओपन सोर्सबाट सूचना सङ्कलन गर्ने गरेको रिपोर्टमा उल्लेख छ।
यसरी विभिन्न एआई एजेन्टलाई एउटै अभियानमा जोडेर काम गराइएको थियो। एउटा मुख्य एआई एजेन्टले कामलाई साना भागमा विभाजन गरी अन्य सहायक एजेन्टलाई जिम्मेवारी दिने र ती एजेन्टले समानान्तर रूपमा काम गर्ने गरेको कम्पनीले जनाएको छ। उक्त समूहले शिक्षा, खुद्रा व्यापार, ऊर्जा, प्रविधि, स्वास्थ्य, वित्त, उत्पादन तथा सरकारी क्षेत्रका करिब ५० संस्थालाई लक्षित गरेको एन्थ्रोपिकको दाबी छ। एउटा एडटेक कम्पनीबाट विद्यार्थीको व्यक्तिगत डेटा चोरी भएको तथा दक्षिणपूर्वी एसियाको सरकारी निकायबाट नागरिकको नाम, फोन नम्बर र ठेगानाजस्ता विवरण निकालिएको रिपोर्टमा उल्लेख छ।
प्रतिस्पर्धी एआई मोडलका लागि डेटा निकाल्ने प्रयास
एन्थ्रोपिकको रिपोर्टमा ‘इलिसिट डिस्टिलेसन’ अर्थात् अनधिकृत रूपमा एउटा एआई मोडलबाट अर्को मोडललाई सिकाउने गतिविधि पनि बढेको उल्लेख छ। यस प्रक्रियामा प्रतिस्पर्धी कम्पनीले एआई मोडललाई ठूलो सङ्ख्यामा प्रश्न सोध्ने, त्यसबाट प्राप्त उत्तर, तर्क गर्ने शैली तथा समस्या समाधान गर्ने तरिका सङ्कलन गर्ने र प्राप्त विवरणका आधारमा आफ्नै मोडललाई तालिम दिने प्रयास गर्छ। एन्थ्रोपिकले यस्ता गतिविधिमा अलिबाबासँग सम्बन्धित खाताहरूले क्लडसँग ठूलो सङ्ख्यामा अन्तरक्रिया गरेको आरोप लगाएको छ। कम्पनीका अनुसार मेदेखि जुलाई २०२६ सम्म अलिबाबासँग जोडिएका खाताबाट क्लडमा १५ करोड १० लाखभन्दा बढी एक्सचेन्ज भएको थियो।
एन्थ्रोपिकले यसलाई आफूले देखेको सबैभन्दा ठूलो अनधिकृत डिस्टिलेसन अभियान भनेको छ। कम्पनीका अनुसार उक्त गतिविधिका लागि ३ हजार ५०० भन्दा बढी खाता प्रयोग गरिएको थियो। कतिपय अवस्थामा एउटै दिनमा करिब ३० लाख एक्सचेन्जसमेत गरिएको थियो। यी खाताबाट क्लडलाई एउटै प्रकारका प्रश्न पटकपटक सोधिएको र त्यसबाट क्लडको प्रश्न बुझ्ने, विश्लेषण गर्ने तथा उत्तर तयार गर्ने तरिका अध्ययन गरिएको एन्थ्रोपिकको दाबी छ। प्राप्त विवरणलाई अलिबाबाको ‘क्वेन’ मोडल सुधार गर्न प्रयोग गरिएको कम्पनीको आरोप छ। एन्थ्रोपिकले अलिबाबाले आफ्नो नियम उल्लङ्घन गरेको दाबी गरे पनि अलिबाबाबाट यसको प्रतिक्रिया आएको छैन। अलिबाबाबाहेक डीपसिक, मुनसट एआई, जिपु एआई, साओमी, सेन्सटाइम तथा मिनिम्याक्ससँग सम्बन्धित गतिविधिसमेत पत्ता लगाएको एन्थ्रोपिकले जनाएको छ। यी कम्पनीसँग सम्बन्धित खाताले क्लडका क्षमता अध्ययन गरी आफ्ना प्रणालीमा प्रयोग गर्ने प्रयास गरेको कम्पनीको दाबी छ।
एआईबाट नक्कली समाचार र राजनीतिक प्रभाव
एन्थ्रोपिकको रिपोर्टमा एआई प्रयोग गरी सूचना हेरफेर गर्ने अभियानका नौवटा उदाहरण दिइएको छ। रिपोर्टअनुसार विभिन्न देशमा सक्रिय समूहहरूले क्लडको प्रयोग गरेर नक्कली सामाजिक सञ्जाल खाता, नक्कली समाचार वेबसाइट, राजनीतिक प्रचार सामग्री, नक्कली कागजात तथा लक्षित व्यक्तिविरुद्धका आरोपका फेहरिस्त तयार गरेका थिए। एउटा अभियानमा करिब ७० वटा नक्कली समाचार वेबसाइट बनाइएको थियो। ती वेबसाइट स्वतन्त्र समाचार संस्थाजस्ता देखिन्थे। सामग्री फैलाउन ७० वटा एक्स अकाउन्टसहित २५० भन्दा बढी नक्कली कमेन्ट गर्ने खाता प्रयोग गरिएको थियो।
उक्त नेटवर्कले करिब २० भाषामा कम्तीमा ८ हजार ९१३ सामग्री प्रकाशित गरेको एन्थ्रोपिकको दाबी छ। तीमध्ये केही सामग्री वास्तविक समाचारलाई राजनीतिक उद्देश्यअनुसार पुनर्लेखन गरी तयार गरिएका थिए। एउटै समाचारलाई विभिन्न देशका दर्शक तथा पाठकअनुसार फरक राजनीतिक दृष्टिकोणबाट प्रस्तुत गरिएको रिपोर्टमा उल्लेख छ। नक्कली पत्रकारका नाममा सामग्री प्रकाशित गरी वेबसाइटलाई वास्तविक समाचार संस्थाजस्तो देखाइएको थियो। त्यस्तै, एआईबाट तयार गरिएका प्रोफाइल तस्बिर र बनावटी परिचय प्रयोग गरी सामाजिक सञ्जालमा नक्कली व्यक्तित्वसमेत निर्माण गरिएको रिपोर्टमा उल्लेख छ। एन्थ्रोपिकले यस्तो गतिविधिलाई ‘इन्फ्लुएन्स-एज-ए-सर्भिस’ अर्थात् पैसा लिएर सूचना र जनमत प्रभावित पार्ने सेवाका रूपमा व्याख्या गरेको छ। यसरी केही कम्पनी वा समूहले आफ्ना ग्राहकको राजनीतिक उद्देश्यअनुसार सामग्री, वेबसाइट तथा सामाजिक सञ्जाल अभियान सञ्चालन गरिरहेको कम्पनीको दाबी छ।
मलेसियाको चुनावमा प्रभाव पार्ने प्रयास
रिपोर्टमा मलेसियालाई लक्षित गरी सञ्चालन गरिएको अर्को राजनीतिक प्रभाव अभियानबारे पनि उल्लेख गरिएको छ। एन्थ्रोपिकका अनुसार उक्त अभियानमा करिब १ हजार नक्कली एक्स अकाउन्ट, नक्कली समाचार वेबसाइट तथा विभिन्न व्यक्तिविरुद्ध तयार गरिएका कागजात प्रयोग गरिएको थियो। अभियानले जनगणना र निर्वाचनसम्बन्धी तथ्यांक प्रयोग गरी मलेसियाका २२२ संघीय संसदीय क्षेत्रका मतदाताको व्यवहार विश्लेषण गर्ने प्रयास गरेको थियो। जाति, धर्म तथा राजपरिवारसँग सम्बन्धित संवेदनशील विषयका आधारमा मतदातालाई लक्षित गर्ने संरचना तयार गरिएको रिपोर्टमा उल्लेख छ। क्लड प्रयोग गरेर नक्कली अकाउन्ट सञ्चालन गर्ने ड्यासबोर्ड, समाचार पुनर्लेखन प्रणाली तथा राजनीतिक सामग्रीसमेत तयार गरिएको एन्थ्रोपिकले जनाएको छ। केही सामग्रीमा विदेशी समाचारलाई पुनर्लेखन गरी मूल स्रोत हटाइएको थियो, जसका कारण ती सामग्री स्थानीय रूपमा तयार गरिएको स्वतन्त्र समाचारजस्तो देखिने बनाइएको रिपोर्टमा उल्लेख छ। यसै अभियानमा विपक्षी नेता तथा नागरिक समाजका संस्थाविरुद्ध प्रमाणविहीन आरोपसहितका नक्कली विवरण तयार गरिएको पनि रिपोर्टमा उल्लेख छ।
बङ्गलादेशमा एआईबाट नक्कली बङ्गाली समाचार
एन्थ्रोपिकले बङ्गलादेशमा पनि एआई प्रयोग गरी नक्कली समाचार तयार गर्ने अभियान पत्ता लगाएको जनाएको छ। कम्पनीका अनुसार गाइवान्धा जिल्लामा आधारित एक व्यक्तिले २९ वटा क्लड खाता पालैपालो प्रयोग गरी प्लेटफर्मका सीमा तथा सुरक्षा प्रणाली छल्ने प्रयास गरेका थिए। ती व्यक्तिले बनाएको सफ्टवेयरले प्रत्येकपटक १५ वटा शीर्षक, तीनवटा विस्तृत झुटा समाचार तथा १५ वटा तस्बिरका लागि निर्देशन तयार गर्ने गरेको रिपोर्टमा उल्लेख छ। यसबाट कम्तीमा १ हजार ५०० शीर्षक, ३०० झुटा समाचार र १ हजार ५०० तस्बिरका निर्देशन तयार गरिएको एन्थ्रोपिकको दाबी छ। ती सामग्री फेसबुक लाइभ, युट्युब तथा टिकटकमार्फत ग्रामीण क्षेत्रका दर्शकमाझ पुर्याउने उद्देश्य राखिएको थियो। रिपोर्टअनुसार सामग्रीहरू एक राजनीतिक दलको पक्षमा र उसका विपक्षीविरुद्ध तयार गरिएका थिए। तर उक्त दलले स्वयं अभियान सञ्चालन वा आर्थिक सहयोग गरेको प्रमाण भने फेला नपरेको एन्थ्रोपिकले जनाएको छ।
निगरानी र दमनमा पनि एआईको प्रयोग
एआई प्रयोग गरेर राजनीतिक कार्यकर्ता, पत्रकार, अल्पसङ्ख्यक समुदाय तथा सरकारविरोधी व्यक्तिको निगरानी गरिएको विवरणसमेत रिपोर्टमा छ। चीनसँग सम्बन्धित केही गतिविधिमा उइघुर समुदाय, तिब्बती समूह, हङकङका लोकतन्त्र समर्थक, फालुन गङ तथा ताइवानका धार्मिक एवं राजनीतिक समूहका सदस्यलाई लक्षित गरिएको एन्थ्रोपिकको दाबी छ। एउटा अभियानमा एआईलाई ठूलो सङ्ख्यामा सामाजिक सञ्जाल पोस्ट पढाएर व्यक्तिको स्थान, राजनीतिक धारणा, सामाजिक समूह तथा कमजोर पक्षको अनुमान गर्न लगाइएको थियो। त्यसपछि सम्भावित रूपमा लक्षित गर्न मिल्ने व्यक्तिको सूची तयार गरिएको रिपोर्टमा उल्लेख छ। उइघुर समुदायलाई लक्षित अर्को गतिविधिमा एआई प्रयोग गरेर सिरियामा रहेका उइघुर व्यक्तिसँग अरबी भाषामा सम्पर्क गर्ने, उनीहरूको जवाफ अनुवाद गर्ने तथा भर्तीसम्बन्धी संवाद तयार गर्ने प्रयास भएको एन्थ्रोपिकले जनाएको छ। त्यस्तै, चीनसँग सम्बन्धित अर्को गतिविधिमा धार्मिक नेता तथा प्रवासी समुदायका व्यक्तिविरुद्ध चिनियाँ भाषामा ‘डोजियर’ तयार गरिएको थियो। जन्ममिति, जन्मस्थान, बसाइँसराइ, सामाजिक सञ्जाल खाता तथा चीनसँग सम्बन्धित गतिविधिजस्ता विवरण सङ्कलन गरी सरकारी रिपोर्टजस्तो ढाँचामा प्रस्तुत गरिएको थियो।
एआई सेवा प्रदायक आफैं आक्रमणकारीको लक्ष्य
रिपोर्टले एआई सेवा प्रदायक तथा तिनका ग्राहकको पूर्वाधारसमेत आक्रमणकारीका लागि लक्ष्य बन्न थालेको देखाएको छ। एआई सेवा प्रयोग गर्न आवश्यक एपीआई की, सेसन टोकन र लगइन विवरण चोरी गरेर आक्रमणकारीले आफ्ना गतिविधि सञ्चालन गरेको कम्पनीले जनाएको छ। कुनै संस्थाको एपीआई की चोरी भएपछि आक्रमणकारीले त्यसैको खर्चमा आफ्ना गतिविधि सञ्चालन गर्न सक्छन्। त्यस्तै, गतिविधि वास्तविक ग्राहकको अकाउन्टबाट भएजस्तो देखिने भएकाले पहिचान लुकाउनसमेत सहज हुने जोखिम रहेको रिपोर्टमा उल्लेख छ। केही समूहले सस्तो मूल्यमा क्लड उपलब्ध गराउने भन्दै नक्कली वेबसाइट सञ्चालन गरेको पनि एन्थ्रोपिकले जनाएको छ। प्रयोगकर्ताले त्यस्ता वेबसाइटबाट सेवा लिन खोज्दा उनीहरूको लगइन विवरण तथा एआईसम्बन्धी टोकन चोरी गरिएको थियो। कतिपय नक्कली सेवा प्रदायकले ग्राहकको ट्राफिक वास्तविक क्लडमा नपठाई अर्को मोडलमा पठाउने गरेको पनि रिपोर्टमा उल्लेख छ। यसरी प्रयोगकर्ताले क्लड चलाइरहेको ठान्दा उनीहरूको खाता विवरण भने आक्रमणकारीको हातमा पुग्न सक्ने जोखिम हुन्छ। एआई शक्तिशाली बन्दै गए पनि निर्णायक भूमिका मानिसकै एन्थ्रोपिकको रिपोर्टको अर्को महत्त्वपूर्ण निष्कर्ष एआईले धेरै काम स्वचालित रूपमा गर्न सक्षम भए पनि आक्रमणको मुख्य उद्देश्य र लक्ष्य निर्धारणमा मानिसकै भूमिका अझै कायम रहेको हो।
कम्पनीका अनुसार एआईले साइबर आक्रमणलाई छिटो, ठूलो र कम खर्चिलो बनाउन सक्छ। तर कुन व्यक्ति वा संस्थालाई लक्षित गर्ने, चोरी गरिएको डेटा कसरी प्रयोग गर्ने र त्यसबाट आर्थिक वा राजनीतिक लाभ कसरी लिने भन्ने निर्णयमा मानिसहरू अझै संलग्न हुन्छन्। त्यसैले एआईले आफैं सबै निर्णय गरेको भन्ने बुझाइ पूर्णरूपमा सही नहुने रिपोर्टको आशय छ। एआईले आक्रमणकारीको क्षमता बढाए पनि त्यसको उद्देश्य निर्धारण र प्रयोगको जिम्मेवारी मानिस तथा सम्बन्धित संस्थाकै रहने देखिन्छ। रिपोर्टमा एआईका कारण साइबर सुरक्षाको परम्परागत ढाँचा चुनौतीमा परेको उल्लेख छ। पहिले सुरक्षा प्रणालीले कुनै मालवेयर पहिचान गरेपछि आक्रमणकारीलाई नयाँ उपकरण बनाउन समय लाग्थ्यो। अहिले एआईको प्रयोगबाट मालवेयर परिमार्जन, पुनः परीक्षण र पुनः प्रयोग छिटो हुन सक्ने भएकाले आक्रमणकारी र सुरक्षाकर्मीबीचको प्रतिस्पर्धा अझ तीव्र बन्ने एन्थ्रोपिकको आकलन छ।




