वीरगंज,२७ भदौ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको रक्षा, संघीयता र समावेशितालाई सुदृढ बनाउन परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता अपरिहार्य रहेको बताएका छन् ।
वीरगंजमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले लामो संघर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, संघीयता, समावेशिता तथा अन्य संवैधानिक अधिकारमाथि कटौतीको खतरा बढ्दै गएको बताए । उनले प्राप्त उपलब्धिको संरक्षण र थप अधिकारका लागि परिवर्तनकारी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिले हामीलाई संविधान जोगाउने चिन्ता छ,’ नेपालले भने, ‘मुख्य कुरा संघीयता र समावेशिता जोगाउने चिन्ता हो । जनताले सुशासनको महसुस गर्न पाइरहेका छैनन् । त्यसैले परिवर्तनकारी शक्ति एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन ।’
नेपालले संविधानले सुनिश्चित गरेका अधिकारलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । आदिवासी, महिला, जनजाति, मधेशी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रलगायत सीमान्तकृत समुदायका अधिकारको संरक्षण गर्दै उनीहरूका लागि थप अधिकार प्राप्तिको संघर्ष पनि एकीकृत रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
एमालेसँग तत्काल एकता सम्भव छैन
पूर्वप्रधानमन्त्री नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकता सम्भव नरहेको स्पष्ट पारे । यद्यपि मुलुकको समृद्धि, विकास र जनताको हितका लागि विभिन्न कम्युनिष्ट पार्टीबीच कार्यगत एकता आवश्यक रहेको उनले बताए । उनका अनुसार राजनीतिक रूपमा फरक धारमा रहेका कम्युनिष्ट शक्तिहरूले साझा विषयमा सहकार्य गर्दै मुलुकको विकास र समृद्धिका लागि अघि बढ्न आवश्यक छ । उनले परिवर्तनका उपलब्धिको रक्षा तथा जनताका सवालमा एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए ।
सरकारप्रति जनताको अपेक्षा पूरा भएन
नेपालले वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा रहे पनि सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको टिप्पणी गरे । सरकारले जनतामा सुशासनको अनुभूति दिलाउन नसकेको उनको आरोप थियो । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका क्रममा सरकारले बेपत्ताको खोजी तथा उद्धारमा पर्याप्त तत्परता नदेखाउँदा थप जनधनको क्षति भएको उनले दाबी गरे । विपत्तिका बेला सरकारको भूमिका प्रभावकारी हुन नसकेको भन्दै उनले समयमै आवश्यक अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने बताए । ‘देश अहिले विपत्तिमा छ । हिमाली सुनामीका कारण ठूलो जनधनको क्षति भएको छ,’ नेपालले भने, ‘खोजी कार्यमा सरकारले पर्याप्त ध्यान दिन सकेको छैन । समयमै भारत र चीन सरकारको सहयोग लिन सक्नुपथ्र्यो । त्यसैले भोटेकोशी बाढीका क्रममा सरकार धेरै ठाउँमा चुकेको छ ।’ उनले विपद्का बेला उद्धार, खोजी तथा राहतका कामलाई तीव्र र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।
जेनजी आन्दोलनका घटनाको निष्पक्ष छानबिन माग
पूर्वप्रधानमन्त्री नेपालले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत गरे । घटनाको वास्तविकता बाहिर ल्याउन निष्पक्ष अनुसन्धान आवश्यक रहेको उनको भनाइ थियो ।
समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेल, नेकपा पर्साका सह–इन्चार्ज मनोज चौधरी, जिल्ला संयोजक जयप्रकाश थारु, गंगा खड्का, बाबुराम कौशिक, केन्द्रीय सदस्य किशोरी कुशवाहालगायतको उपस्थिति थियो ।




