काठमाडौं,२७ भदौ । एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा शनिबार भएको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै एसिया कपमा आफ्नो स्थान पक्का गरेको हो।
नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.२ ओभरमा २६८ रनमा समेटिएपछि नेपालले सहज जित निकाल्यो। यूएईका राहुल चोपडाले उत्कृष्ट शतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन्। उनले १०५ बलमा ३ चौका र ४ छक्काको सहयोगमा १०० रन बनाए। यूएईका लागि शोयब खानले ५२ रन बनाए भने तानिस सुरीले ४२, हरप्रित सिंहले ३३ र खुजैमा तनवीरले १५ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको बलिङमा करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। ललित राजवंशीले २ विकेट हात पार्दा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले समान १–१ विकेट लिए।
आसिफको शतकमा नेपालले बनायो ३१३ रन
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको विशाल योगफल तयार पारेको थियो। नेपालको इनिङ्सको मुख्य आकर्षण आसिफ शेखको शतक रह्यो। उनले धैर्यपूर्ण र आक्रामक ब्याटिङ गर्दै १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए। आसिफको शतकले नेपाललाई बलियो स्कोरतर्फ अघि बढाउन महत्वपूर्ण योगदान पुर्यायो। त्यस्तै, गुल्सन झाले ५२ रनको महत्वपूर्ण योगदान दिए। अर्जुन कुमालले ४३ तथा कप्तान रोहित पौडेलले ४० रन बनाए। दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले १५, इशान पाण्डेले १३ र सन्दीप जोराले ७ रन जोडे। करण केसी र ललित राजवंशीले समान १–१ रन बनाए। यूएईका लागि इब्रार अहमदले सर्वाधिक ४ विकेट लिए। खुजैमा तनवीरले २ विकेट लिँदा हैदर अली र अदीब उस्मानीले समान १–१ विकेट लिए।
एसिया कपमा नेपालको स्थान पक्का
एसीसी प्रिमियर कपको विजेता टोली एसिया कपमा छनोट हुने प्रावधानअनुसार नेपालले उपाधिसँगै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको हो। यो जितसँगै नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय मञ्चमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। अर्को वर्ष बंगलादेशमा आयोजना हुने एसिया कपका लागि आयोजक बंगलादेशसहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान यसअघि नै छनोट भइसकेका छन्। अब प्रिमियर कपको विजेताका रूपमा नेपालले पनि एसिया कपमा प्रतिस्पर्धा गर्नेछ।
यूएईविरुद्धको फाइनलमा ब्याटिङतर्फ आसिफ शेखको शतक र बलिङतर्फ करण केसीको प्रभावशाली प्रदर्शनमा नेपालले ४४ रनको जित निकाल्दै प्रिमियर कपको उपाधि आफ्नो नाममा गरेको हो। उपाधिसँगै एसिया कपको टिकट पक्का भएपछि नेपाली क्रिकेट समर्थकका लागि यो जित थप विशेष बनेको छ।




