काठमाडौँ,२९ भदौ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि जितेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । उपाधि जितेपछि नेपाली टोली आइतबार अबेर काठमाडौँ आइपुगेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्का, उपाध्यक्ष रोशनकुमार सिंहलगायत क्यानका पदाधिकारीले स्वागत गर्नुभएको थियो । विमानस्थलमा आयोजित स्वागत कार्यक्रममा क्यानका सचिव खड्काले नेपाली टोलीलाई ऐतिहासिक सफलताका लागि बधाई दिँदै आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गर्नुभयो । टोलीको उत्कृष्ट प्रदर्शनले नेपाली क्रिकेटलाई थप उत्साहित बनाएको उहाँले बताउनुभयो ।
नेपालले शनिबार सम्पन्न एसिसी प्रिमियर कपको फाइनलमा आयोजक युनाइटेड अरब इमिरेट्स (युएई)लाई ४४ रनले पराजित गर्दै उपाधि हात पारेको थियो । उत्कृष्ट प्रदर्शन गर्दै नेपालले प्रतियोगिताको उपाधि दोस्रोपटक जित्न सफल भएको हो । उपाधिसँगै नेपाली टोलीले आगामी वर्ष बङ्गलादेशमा आयोजना हुने एसिया कपमा समेत स्थान सुरक्षित गरेको छ । एसिसी प्रिमियर कपको उपाधि जित्नु नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ ।
दोस्रोपटक एसिया कप खेल्ने अवसर
एसिसी प्रिमियर कपको उपाधिसँगै नेपालले दोस्रोपटक एसिया कप खेल्ने अवसर प्राप्त गरेको छ । यसअघि सन् २०२३ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलोपटक एसिया कपमा सहभागिता जनाएको थियो । यसपटक एसिया कपमा स्थान सुरक्षित गरेसँगै नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति थप बलियो बनाउने अवसर पाएको छ । प्रिमियर कपको उपाधि जितेर स्वदेश फर्किएको टोलीलाई क्यानका पदाधिकारी तथा समर्थकले स्वागत गर्दै आगामी अन्तर्राष्ट्रिय यात्राका लागि शुभकामना दिएका छन् ।




