वीरगंज,२८ भदौ । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना स्वीकृत भएको छ ।
लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एसको सम्पन्न प्रथम डिस्ट्रिक्ट क्याबिनेट बैठकले विद्यालय भवन निर्माणसम्बन्धी उक्त परियोजना स्वीकृत गर्ने निर्णय गरेको हो । परियोजना स्वीकृत भएको जानकारी लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानीले दिएका हुन् ।विद्यालय भवन निर्माणका लागि अघि बढाइएको उक्त परियोजना अध्यक्ष शमानीको पहल, समन्वय र सक्रियतामा अगाडि बढाइएको जनाइएको छ । ग्रामीण क्षेत्रका बालबालिकालाई सुरक्षित, व्यवस्थित तथा गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले परियोजना अघि बढाइएको हो ।
विद्यालयको भौतिक पूर्वाधार कमजोर हुँदा पठनपाठनमा पर्न सक्ने असरलाई कम गर्दै बालबालिकाका लागि सहज र सुरक्षित वातावरण निर्माण गर्न परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । भवन निर्माणपछि विद्यार्थीले थप व्यवस्थित कक्षाकोठा तथा शैक्षिक वातावरण प्राप्त गर्ने विश्वास लिइएको छ । ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्नुका साथै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यमा समेत परियोजनाले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । विद्यालयको भौतिक पूर्वाधार विकासमार्फत स्थानीय बालबालिकाको शैक्षिक वातावरण सुधार गर्न परियोजना महत्वपूर्ण हुने विश्वास लिइएको छ । परियोजना स्वीकृतिका लागि पहल, समन्वय तथा सहयोग गरेको भन्दै लायन्स क्लब अफ पोखरिया परिवारले लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एसका अध्यक्ष लायन रामबिहारी पाण्डेयसहित सम्पूर्ण पदाधिकारी, सदस्य तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ ।
यसै अवसरमा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानीलाई लायन्स क्लबको पिन लगाई सम्मानसमेत गरिएको थियो । परियोजनालाई अघि बढाउन गरेको पहल र सक्रियताको कदरस्वरूप उनलाई सम्मान गरिएको जनाइएको छ । सम्मानपछि अध्यक्ष शमानीले आफू अत्यन्तै खुसी र गौरवान्वित भएको प्रतिक्रिया दिएका छन् । आफूलाई प्रदान गरिएको माया, विश्वास र सम्मानप्रति उनले हृदयदेखि नै धन्यवाद तथा आभार व्यक्त गरेका छन् । विद्यालय भवन निर्माणका लागि स्वीकृत सहयोग परियोजनाले श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक संरचना सुधारमा योगदान पुर्याउनुका साथै ग्रामीण क्षेत्रका बालबालिकालाई सुरक्षित र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
परियोजना कार्यान्वयनसँगै विद्यालयको शैक्षिक वातावरणमा सुधार आउने, बालबालिकाको शिक्षामा पहुँच सहज हुने र शिक्षाको गुणस्तर अभिवृद्धिमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।




