काठमाडौं,२७ कार्तिक । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा हवाई सेवा, पर्यटन र बैंकिङ क्षेत्रमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको वार्षिक अध्ययन प्रतिवेदन अनुसार, गण्डकी प्रदेशमा दर्ता हवाई सेवा कम्पनीहरूको सिट उपयोग क्षमता ७९.१३ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ७७.८५ प्रतिशतभन्दा उच्च हो।
गत वर्ष गण्डकीमा सञ्चालित २५ हवाई कम्पनीहरूले १४ हजार १ सय ५८ उडान गरेका थिए। यसले प्रदेशमा हवाई कारोबारमा स्थिरता र यात्रु संख्यामा वृद्धिको संकेत गरेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, चालू आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ४.६१ प्रतिशतले वृद्धि हुने अनुमान छ, भने गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ५.५१ प्रतिशत रहने अनुमान गरिएको छ। प्रदेशको जीडीपीमा कृषि २७.८%, उद्योग १६.५% र सेवा क्षेत्र ५५.८% को योगदान रहनेछ।
समीक्षा अवधिमा गण्डकीका ११ जिल्लामा प्रमुख कृषि बालीको क्षेत्रफल १.११ प्रतिशतले घटेको छ, तर तरकारी, फलफूल, मसला, चिया र कफी खेतीमा क्रमशः ०.३१ देखि ६.३५ प्रतिशतसम्म वृद्धि भएको छ। त्यसैगरी, कफी र मह उत्पादनमा क्रमशः ४७.९५ र ६९.६९ प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको छ।
बैंक तथा वित्तीय संस्थाले प्रदेशभर २४ अर्ब ६ करोड रुपैयाँ कृषि, वन र माछापालन क्षेत्रमा कर्जा प्रवाह गरेका छन्, जुन कुल कर्जाको ६.७४ प्रतिशत हो। औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा २७ अर्ब ९१ करोड (७.८२%) रहेको छ।
उद्योगको औसत उत्पादन क्षमता उपयोग ३९.१९ प्रतिशत रहेको छ। चाउचाउ, बियर, औषधि र तोरी तेलको उत्पादनमा वृद्धि भए पनि, इँटा, बिस्कुट, सिमेन्टजस्ता क्षेत्रमा कमी आएको प्रतिवेदनले जनाउँछ।
पर्यटन क्षेत्र पनि सुधारतर्फ छ। विदेशी पर्यटक आगमन २६ प्रतिशतले बढेर ६९ हजार ४९१ पुगेको छ। होटल शय्या बिक्री ३.८ प्रतिशतले वृद्धि भई ७५ हजार ४१९ पुगेको छ भने अकुपेन्सी दर ३१.८४ प्रतिशत पुगेको छ।
तर, प्रदेशबाट उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति उच्च रहँदा विश्वविद्यालयमा विद्यार्थी संख्या ५.३१ प्रतिशतले घटेको छ। यद्यपि शिक्षक संख्यामा १.३३ प्रतिशत वृद्धि भएको छ।
वित्तीय क्षेत्रमा पनि सुधार देखिएको छ। प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १४.६ प्रतिशतले बढेर ६ खर्ब १२ अर्ब २९ करोड पुगेको छ भने कुल कर्जा प्रवाह २.३ प्रतिशतले बढेर ३ खर्ब ५६ अर्ब ९२ करोड पुगेको छ। पर्यटन क्षेत्रमा प्रवाहित कर्जा रकम पनि ०.५६ प्रतिशतले वृद्धि भई २३ अर्ब ८९ करोड पुगेको छ।
राष्ट्रिय गौरवका आयोजनामध्ये कालीगण्डकी करिडोरको मालढुंगा–राम्दी–गैँडाकोट खण्डको प्रगति ८०%, र बेनी–जोमसोम खण्डको ८७% पुगेको छ।
त्यस्तै, मध्यपहाडी लोकमार्गको गोरखा–लमजुङ खण्ड ७७% र कास्की–पर्वत–बाग्लुङ खण्ड ८२% प्रगति पुगेको छ।
तनहुँ जलविद्युत् आयोजना ६७% र बुढीगण्डकी आयोजना १६.५५% प्रगति अवस्थामा छन्।
यस आर्थिक वर्षमा गण्डकीका ५९ स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेका छन्। जसअन्तर्गत ७८९ आयोजना मार्फत ४४५ जनाले औसतमा ४८ दिन रोजगार पाएका छन्।
गण्डकीको अर्थतन्त्रमा हवाई सेवा, पर्यटन र बैंकिङ क्षेत्रमा सुधार देखिए पनि कृषि उत्पादनमा आएको गिरावट र उच्च शिक्षामा घट्दो विद्यार्थी संख्याले दीर्घकालीन सन्तुलनका चुनौतीहरू कायम रहेको विज्ञहरूको भनाइ छ।





