Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
spot_img
25.1 C
Kathmandu

वीरगंजको निजी अस्पतालमा उपचार विवाद : मृत्यु घटना आर्थिक सहमतिमा टुंगियो

spot_img

वीरगंज,२५ बैशाख । वीरगंजका निजी अस्पतालहरूमा उपचारका क्रममा हुने विवादित घटनाहरू निष्पक्ष अनुसन्धानबिनै आर्थिक सहमतिमार्फत टुंग्याउने प्रवृत्ति बढ्दै गएको देखिएको छ । पछिल्लो घटनामा हुलाकी राजमार्गअन्तर्गत रहेको निलकण्ठ अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि रकम लेनदेन गरेर मिलापत्र गरिएको खुलेको हो । 

वीरगंज महानगरपालिका–३१ चोर्नी निवासी कपिलदेव साहकी करिब ४८ वर्षीया पत्नी प्रमिला देवीलाई पेट दुखेपछि शुक्रबार बिहान करिब ४ बजे उपचारका लागि निलकण्ठ अस्पताल लगिएको थियो । परिवारका अनुसार अस्पताल पुग्दासम्म उनको अवस्था सामान्य थियो र उनी मोटरसाइकलमै अस्पताल पुगेकी थिइन् । अस्पताल परिसरभित्र समेत उनी आफैं हिँडेर प्रवेश गरेकी थिइन् ।

घटना भएको समयमा अस्पतालमा विशेषज्ञ चिकित्सक नभई मेडिकल अफिसर मात्रै ड्युटीमा रहेको बताइएको छ । प्रारम्भिक जाँचपछि इमर्जेन्सीमा औषधि लेखिएको र औषधि खरिद गरी ल्याइएपछि एक नर्सले इन्जेक्सन लगाएकी थिइन् । परिवारजनले उक्त नर्स दक्ष नभएको तथा केनुला समेत सही ढंगले लगाउन नसकेको आरोप लगाएका छन् । उनीहरूका अनुसार सो दृश्य अस्पतालको सीसीटीभी फुटेजमा समेत कैद भएको छ ।

परिवारका सदस्यका अनुसार इन्जेक्सन लगाएको केही मिनेटमै प्रमिला देवीको स्वास्थ्य अवस्था अचानक बिग्रिएको, बान्ता भएको र त्यसलगत्तै उनको मृत्यु भएको थियो । घटनापछि आक्रोशित आफन्तहरूले अस्पतालमा विरोध जनाएपछि वडा प्रहरी कार्यालय श्रीपुरको टोली त्यहाँ पुगेको थियो ।

परिवार स्रोतका अनुसार अस्पताल प्रशासनले उपचारमा लापरबाही भएको स्वीकार गरेको दाबी गरिएको छ । तर घटनाको निष्पक्ष छानबिन, पोस्टमार्टम वा चिकित्सकीय परीक्षण नगरी स्थानीय प्रहरीको उपस्थितिमा ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमतिमा विवाद मिलाइएको बताइएको छ ।

यस घटनाले उपचारमा साँच्चिकै लापरबाही भएको हो वा सामान्य चिकित्सकीय जटिलताका कारण मृत्यु भएको हो भन्ने विषयमा गम्भीर प्रश्न उठाएको छ । सरोकारवालाहरूका अनुसार मृत्युको कारण कानुनी तथा चिकित्सकीय प्रक्रियाबाट यकिन गरी दोषी पाइए कारबाही हुनुपर्नेमा अनुसन्धान नै नगरी आर्थिक सहमतिमा घटना टुंग्याइनु कानुन र प्रक्रियाविपरीत हो ।

यता चिकित्सकहरूले हरेक चिकित्सकीय मृत्युका घटनालाई दबाब र हल्लाका आधारमा आर्थिक लेनदेनबाट समाधान गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार यस्तो अभ्यासले स्वास्थ्य संस्थाप्रतिको जनविश्वास कमजोर बनाउने खतरा बढाएको छ ।

स्रोतका अनुसार मिलापत्रपत्रमा अस्पतालका तर्फबाट डा. सुनिल यादवले हस्ताक्षर गरेका छन् भने मृतक परिवारलाई ४ लाख रुपैयाँ नगद दिइसकिएको छ । तर प्रमिला देवीको मृत्युको वास्तविक कारण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले प्रहरी अस्पतालमा शान्ति–सुरक्षा कायम गर्न मात्र जाने गरेको बताए । उनका अनुसार उपचारसम्बन्धी विषय नेपाल मेडिकल काउन्सिलले हेर्ने भएकाले उजुरी परेपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ ।

वीरगंजका एक चिकित्सकले पैसा लेनदेन गरेर यस्ता घटनाहरू मिलाउनु कानुनविपरीत भएको बताए । उनका अनुसार चिकित्सक संघले यस्ता गतिविधिको निरन्तर विरोध गर्दै आएको छ । उनले अस्पतालसम्बन्धी विवादमा प्रहरीले नेपाल मेडिकल काउन्सिललाई बेवास्ता गर्दै आफैं मिलापत्र गराउने काममा सक्रिय भूमिका खेल्ने गरेको आरोप समेत लगाए ।कालिका टाईम्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once