Date
मङ्ल, जेष्ठ २६, २०८३
Tue, June 9, 2026
spot_img
21.4 C
Kathmandu

गहवा टोलमा रामकिशोर सिंहको घरदैलो : स्थानीयको समर्थन, परिणाममुखी नेतृत्वको माग

spot_img

वीरगञ्ज (पर्सा), ११ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी बढ्दै जाँदा उज्यालो नेपाल पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आफ्नो घरदैलो अभियानलाई तीव्रता दिएका छन्। यसै क्रममा उनले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर–८ अन्तर्गत गहवा टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्। कार्यक्रममा स्थानीयवासी, युवा तथा अग्रजहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

घरदैलोका क्रममा स्थानीयहरूले उम्मेदवार सिंहलाई फूलमाला लगाई भव्य स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो। स्थानीय युवाहरूले परिवर्तनकारी र परिणाममुखी नेतृत्वको आवश्यकता औंल्याउँदै यसपटक सक्षम उम्मेदवारलाई समर्थन गर्ने धारणा व्यक्त गरेका थिए।

स्थानीयवासीहरूले विगतका निर्वाचनहरूमा विभिन्न दल तथा उम्मेदवारहरूले विकास, रोजगारी र पूर्वाधारका विषयमा आश्वासन दिए पनि व्यवहारमा उल्लेखनीय काम नगरेको भन्दै असन्तुष्टि जनाए। चुनावको समयमा मात्र युवाहरूलाई प्रयोग गर्ने र जितिसकेपछि जनतासँग सम्पर्कविहीन हुने प्रवृत्ति अन्त्य हुनुपर्ने उनीहरूको भनाइ थियो। यसपटक भने काम गर्ने र जनतासँग निरन्तर सम्पर्कमा रहने नेतृत्व रोज्ने प्रतिबद्धता स्थानीयहरूले व्यक्त गरेका छन्।

स्थानीयहरूले पार्टीका अध्यक्ष कुलमान घिसिङलाई काम गर्ने, परिणाम दिने व्यक्तित्वका रूपमा उल्लेख गर्दै उम्मेदवार सिंहप्रति विश्वास व्यक्त गरेका थिए। उनीहरूले नयाँ सोच र स्पष्ट योजनासहित अघि बढेको उज्यालो नेपाल पार्टीलाई समर्थन गर्न तयार रहेको बताएका थिए।

उम्मेदवार रामकिशोर सिंहले आफू निर्वाचित भएलगत्तै शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न उद्योग तथा कलकारखानासँग सहकार्य गर्ने र स्थानीय तथा योग्य व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिलाउने पहल गर्ने बताए। युवाहरूलाई विदेशिनुपर्ने बाध्यता कम गर्न उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए।

सिंहले यसअघि वीरगञ्ज महानगरपालिका वडा नम्बर–२० मा निर्वाचित भएर काम गर्दा प्राप्त अनुभवलाई संघीय संसदसम्म पुर्‍याई क्षेत्रका विकासका मुद्दाहरू सशक्त रूपमा उठाउने बताए। सडक, ढल, खानेपानी, शिक्षा र स्वास्थ्य पूर्वाधार सुधारलाई दीर्घकालीन योजनासहित अघि बढाउने उनको भनाइ थियो।

कार्यक्रममा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई आगामी निर्वाचनमा विजयका लागि अग्रिम शुभकामना दिएका थिए। गहवा टोलमा देखिएको जनसमर्थनले पर्सा–१ को चुनावी माहोल थप रोचक बन्दै गएको छ। अब मतदाताले परिवर्तन र परिणाममुखी नेतृत्वलाई कत्तिको समर्थन गर्छन् भन्ने विषयले थप चासो पाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once