वीरगंज,०१ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर ५ झिंगना टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रममा बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषक स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको थियो।
घरदैलोका क्रममा स्थानीयवासीले यसपटकको निर्वाचनले पर्सा–२ मा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गरेका थिए। बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूले “यसपालिको मत परिवर्तनका लागि” भन्ने नारासहित उम्मेदवार कानुलाई समर्थन जनाएका थिए।
कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्राथमिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्सागढी क्षेत्रमा अस्पताल तथा स्वास्थ्य सेवा व्यवस्थापन सुधार, खेलकुद पूर्वाधार विकास, तथा कृषकहरूलाई समयमा मल र सिँचाइका लागि पानी उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।
त्यसैगरी बेरोजगार युवाहरूलाई स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिम प्रदान गरी रोजगारीको अवसर सिर्जना गरिने योजना अघि सारेका छन्। उनले निर्वाचित भएसँगै यी आधारभूत समस्याहरू चरणबद्ध रूपमा समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।
घरदैलो कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति देखिएको थियो, जसले क्षेत्रको चुनावी माहोल थप सक्रिय बन्दै गएको संकेत गरेको छ।





