वीरगंज,०५ साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर हटाउने सरकारको निर्णयको स्वागत गरेका छन्। उनले उक्त निर्णयलाई जनभावनाअनुकूल र संविधानसम्मत कदम भएको भन्दै सरकारलाई धन्यवाद दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष साहले संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा कर लगाउनु सुरुदेखि नै अनुचित रहेको बताएका छन्। उनले आम नागरिकको भावना र मागलाई आत्मसात गर्दै सरकारले शिक्षा तथा स्वास्थ्य कर हटाउने निर्णय गर्नु स्वागतयोग्य र प्रशंसनीय भएको उल्लेख गरेका छन्। जनताको आधारभूत आवश्यकता र अधिकारसँग जोडिएका क्षेत्रमा करको भार थप्नु उचित नभएको उनको भनाइ छ।
शिक्षा र स्वास्थ्य कर हटाउने सरकारको निर्णयको स्वागत गर्दै अध्यक्ष साहले अब राइड सेयरिङ (सवारी साझेदारी) सेवा तथा बिजुली महसुलमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) समेत तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। साहले सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका यस्ता आधारभूत सेवामा कर लगाउनु न्यायोचित नभएको बताएका छन्। उनले सरकारले यस विषयमा पनि शीघ्र सकारात्मक निर्णय लिने विश्वास व्यक्त गरेका छन्।
आजपा अध्यक्ष साहले सरकार परिवर्तनसँगै विभिन्न शीर्षकमा थपिँदै गएका अनावश्यक करप्रति आफ्नो पार्टी सुरुदेखि नै विरोधमा रहेको स्मरण गराएका छन्। जनतालाई प्रत्यक्ष असर पार्ने यस्ता कर खारेजीको माग गर्दै पार्टीले विगतदेखि नै आन्दोलनसमेत गर्दै आएको उनले बताएका छन्।
उनका अनुसार शिक्षा, स्वास्थ्य, यातायात तथा ऊर्जा जस्ता जनजीवनसँग जोडिएका सेवामा करको भार घटाउनु आवश्यक छ। सरकारले जनताको भावना र आवश्यकतालाई ध्यानमा राखेर बाँकी करसम्बन्धी विषयमा समेत निर्णय लिनुपर्ने उनको माग छ।





