काठमाडौं,१० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह चुनावी प्रचारप्रसारका क्रममा तेह्रथुम पुगेका छन्। झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाहले तेह्रथुमको म्याङ्लुङ देवीथानमा स्थानीय मतदातासँग भेटघाट गरेका हुन्।
स्थानीयसँगको अन्तरक्रियामा शाहले तेह्रथुमलाई कागज वा पुस्तकबाट मात्र नभई प्रत्यक्ष अनुभव गरेर बुझ्न चाहेको बताए। उनले भने, “तेह्रथुमको बारेमा विकिपिडियामा पढ्न सकिन्छ, किताबबाट पनि बुझ्न सकिन्छ। तर यही आएर यहीको हावापानीमा भिजेर, यहीको माटोमा बसेर, यहीका मान्छे भेटेर आँखा, हात र मनले महसुस गरेपछि मात्र यो ठाउँ कस्तो रहेछ भन्ने थाहा हुन्छ। भोलि तेह्रथुमका समस्या उठाउँदा आफूलाई पनि थाहा होस् भनेर यहाँ आएका हौँ।”
शाहले रास्वपाका सभापति तथा उम्मेदवार इन्जिनियरिङ पृष्ठभूमिका भएको उल्लेख गर्दै, स्थानीयस्तरमै सकिने र व्यवहारिक कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले भने, “ठूला–ठूला कुरा भन्दा पनि सकिने कुरा गरौँ। यहाँ कृषि उत्पादन राम्रो छ तर बजारको समस्या मुख्य रूपमा देखिएको छ।”
तेह्रथुममा आयोजित भेटघाट कार्यक्रममा रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्की पनि सहभागी थिए। शाहले स्थानीय समस्यालाई प्रत्यक्ष रूपमा बुझेर नीति तथा योजनामा समेट्ने उद्देश्यले भेटघाट गरिएको बताए।
झापा–५ बाट उम्मेदवारी दिएका शाह पूर्वी नेपालका विभिन्न जिल्लामा चुनावी अभियान सञ्चालन गरिरहेका छन्। यसअघि उनी इलाम, ताप्लेजुङ र पाँचथरका विभिन्न स्थानमा पनि पुगेका थिए।





