वीरगंज,०९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा निर्वाचन प्रहरी बन्नेहरूको उल्लेख्य सहभागिता देखिएको छ । रोजगारीको खोजी र राष्ट्रसेवाको चाहनाले प्रेरित आमा, युवा तथा विभिन्न उमेर समूहका महिला–पुरुष वीरगंजस्थित नारायणी रङ्गशालामा शारीरिक अभ्यासमा जुटिरहेका छन् ।
पर्साको विन्दवासिनी गाउँपालिका–१ स्थायी घर भएकी ५३ वर्षीया शिशकुमारीदेवी विनिन तेस्रो पटक निर्वाचन प्रहरी बन्ने लक्ष्यसहित अभ्यासमा सहभागी भएकी छन् । तीन सन्तानकी आमा रहेकी विनिन आर्थिक अवस्थाका कारण निर्वाचन प्रहरीमा सहभागी हुनुपरेको बताउँछिन् ।
“यो उमेरमा रहरले होइन, परिवारको बिहान–साँझको गर्जो टार्नकै लागि निर्वाचन प्रहरीमा आएको हुँ,” उनले भनिन्, “यसअघि दुई पटक म्यादी प्रहरीको अनुभव भएकाले यसपटक पनि छनोट हुने आशा लिएकी छु।”
उनका दुई सन्तान अध्ययनरत छन् भने एक छोरा सवारी दुर्घटनापछि शारीरिक समस्या भोगिरहेका छन् । घाइते छोराको उपचार खर्च जुटाउन पनि निर्वाचन प्रहरी बन्न लागेको उनी बताउँछिन् ।
विनिन मात्र होइन, पर्साको पोखरिया नगरपालिका स्थायी घर भएकी ३२ वर्षीया दुई सन्तानकी आमा तेतरीदेवी चमार पनि निर्वाचन प्रहरी बन्ने सपना बोकेर अभ्यासमा सहभागी भएकी छन् ।
“देशको सेवा पनि हुने र केही आम्दानी पनि हुने देखेर आएको हुँ,” उनले भनिन्, “निर्वाचन प्रहरी बनेर छोराछोरीको पढाइ खर्च जुटाउन सजिलो होला भन्ने आशा छ।”
त्यस्तै, पर्साको बहुदरमाई नगरपालिका–९ की चन्द्रमादेवी पनि निर्वाचन प्रहरी बन्ने चाहनासहित नारायणी रङ्गशालामा अभ्यास गरिरहेकी छन् । कमजोर आर्थिक अवस्थाका कारण नर्सरीमा पढ्ने छोरालाई छाडेर अभ्यासमा आएको उनले बताइन् ।
नारायणी रङ्गशालामा महिला मात्र होइन, विभिन्न उमेर समूहका पुरुष तथा युवायुवतीको पनि उल्लेख्य सहभागिता देखिन्छ । १९ वर्षीया युवती कुशुकुमारीले निर्वाचन सफल बनाउन र केही आम्दानी गर्न निर्वाचन प्रहरीमा सहभागी भएको बताइन् ।
त्यस्तै, पर्साको बहुदरमाई नगरपालिका–७ का २४ वर्षे अमृत महतो पनि निर्वाचन प्रहरी बन्ने लक्ष्यसहित अभ्यासमा जुटिरहेका छन् ।
पर्साको छिमेकी जिल्ला बाराको परवानीपुर गाउँपालिकाका १८ वर्षे विदेशप्रसाद यादवले समयको सदुपयोग, अनुभव प्राप्ति र देशसेवाको उद्देश्यले निर्वाचन प्रहरीमा सहभागी भएको बताए ।
पर्सामा निर्वाचन प्रहरी छनोटका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरी २ हजार ८५२ जनाको माग गरिएको थियो । तर, नेपाल प्रहरीतर्फ मात्रै ५ हजार ३९९ जनाको आवेदन परेको छ भने सशस्त्र प्रहरीतर्फ ३८५ जनाको मागमा ५७१ जनाको आवेदन परेको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमिति संयोजक सुमनकुमार कार्कीले विभिन्न उमेर समूहका महिला तथा पुरुषको उत्साहजनक सहभागिता रहेको बताए ।
“छोटो अवधिको रोजगारीको अवसर भएकाले पनि सहभागिता बढेको हुनसक्छ,” उनले भने ।
उनका अनुसार मधेसी समुदायका महिलाहरू पनि अवसर पाउँदा जिम्मेवारी निभाउन सक्षम छन् भन्ने उदाहरण निर्वाचन प्रहरी भर्ती प्रक्रियाले देखाएको छ ।
पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले निर्वाचन प्रहरीमा आवेदन दिनेहरूको संख्या दोब्बरभन्दा बढी रहेको बताए ।
“एकातर्फ राष्ट्रसेवाको चाहना बढेको छ भने अर्कोतर्फ ४० दिनमा हुने आम्दानीले पनि आकर्षण बढाएको देखिन्छ,” उनले भने ।
पर्सा प्रहरीले दिएको विवरणअनुसार पहिलोपटक आवेदन दिने पुरुष ३ हजार १४७ जना र महिला ६०३ जना छन् । विगतमा म्यादी प्रहरीको रूपमा खटिएका ६८७ पुरुष र १५३ महिला तथा पूर्व सुरक्षाकर्मी १२ जना पुरुष र विदेशी सैनिकबाट अवकाश प्राप्त १ जनाले पनि आवेदन दिएका छन् ।
सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी मोहन निरौलाले युवादेखि अन्य उमेर समूहसम्म निर्वाचन प्रहरीप्रति आकर्षण बढिरहेको बताए ।
सरकारले निर्वाचन सुरक्षाका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न आवेदन खुलाएसँगै पर्सामा निर्वाचन प्रहरी बन्नेहरूको उल्लेख्य भीड देखिएको हो ।





