वीरगंज,०६ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार बन्न चाहेका अजय द्विवेदी पार्टीले टिकट नदिएपछि अचम्मित भएका छन्। प्रारम्भिक अनुमानअनुसार क्षेत्रवासीले टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रने सम्भावना थियो, तर यसपटक उनले उम्मेदवारी दर्ता गरेका छैनन्।
उम्मेदवारी दर्ताको समय सकिएपछि सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिदै द्विवेदीले लेखेका छन्, “जिल्लामा साख, पार्टीमा संगठन अनि क्षेत्रमा सहयोग हुँदाहुँदै नेपाली कांग्रेसले मलाई उम्मेदवार नबनाएकोमा अलि अचम्मित त पक्कै छु।”
द्विवेदीले देश र पार्टीमा पुस्तान्तरण तथा परिवर्तनको आवश्यकता रहेको सन्दर्भमा आफ्नो धारणा व्यक्त गर्दै भनेका छन्, “यो पालि नउठ्ने निर्णय समयसापेक्ष नै ठहरिन्छ।” उनले कांग्रेसका आधिकारिक उम्मेदवार अनिल कुमार रुंगटाको समर्थन गर्दै थपे, “अनिलजी र म पुराना मित्र हौँ। उहाँ पार्टीको आधिकारिक उम्मेदवार हुनासाथ म मद्दत गर्न सक्ने जति सहयोग गर्नेछु।”
आफूलाई लिएर उठेका विभिन्न टिप्पणीप्रति जवाफ दिँदै द्विवेदीले भनेका छन्, “कसैले सेटिङको कुरा गर्नुभयो, कसैले राजनीति सकिने कुरा गर्नुभयो। ११ वर्षको उमेरमा ने.वि. संघ हुँदै कांग्रेसको राजनीतिमा आएको थिएँ। प्रशासनबाट कहिले धम्की पाइरहेको त्यो ठिटोलाई संसद् भवनले लोभ्याउने कुरा हास्यास्पद लाग्छ। हामी सधैँ सिद्धान्तका लागि लडेका मान्छे हौँ, अन्तिम श्वाससम्म यो लडाइँ जारी रहनेछ।”
यसअघि पनि कांग्रेसले गठबन्धनका कारण टिकट नदिएपछि द्विवेदी स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा होमिएका थिए। त्यो निर्वाचनमा उनी जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादवसँग केही मतको अन्तरले पराजित भएका थिए। यसपाली उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले टिकट दिन तयार भए पनि उनले कांग्रेसबाट टिकट पाउने आशमा रास्वपामा प्रवेश नगरेका थिए।





