काठमाडौं ,०६ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताको पछिल्लो विवरण सार्वजनिक गरेको छ। आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार साँझ ६ बजेसम्म प्राप्त विवरणअनुसार देशभरबाट कुल २ हजार ९३५ जनाको उम्मेदवारी दर्ता भएको छ।
दर्ता भएका उम्मेदवारमध्ये २ हजार ५८९ जना पुरुष र ३३६ जना महिला रहेका छन्। यसैगरी, अपांगता भएका ८५ जना तथा पछाडि पारिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार यो प्रारम्भिक विवरण मात्र भएकोले अन्तिम तथ्यांक आउन अझै केही समय लाग्नेछ।
निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको थियो। तर, तोकिएको समयभित्र निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरिसकेका उम्मेदवारहरूलाई त्यसपछि पनि उम्मेदवारी दर्ता गर्न दिइएको आयोगले स्पष्ट पारेको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक निर्वाचन प्रणाली र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था छ। समानुपातिकतर्फको उम्मेदवारी मनोनयन प्रक्रिया भने यसअघि नै गत पुस १३ र १४ गते सम्पन्न भइसकेको छ। आज भने प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन प्रक्रिया पूरा भएको हो।





