Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
24.1 C
Kathmandu

प्रतिनिधिसभा निर्वाचन: पर्सा क्षेत्र २ मा नेकपा एमालेले रिमा कुमारी यादवलाई अघि सार्‍यो

spot_img

वीरगंज, ५ माघ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट रिमा कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । वीरगंज महानगरपालिका–२९ मुसौली निवासी तथा एमाले नेता प्रद्युम्न यादवकी पत्नी रिमा कुमारी यादवलाई पार्टीले औपचारिक रूपमा टिकट प्रदान गर्दै निर्वाचनमा अघि सार्ने घोषणा गरेको हो ।

उम्मेदवारी पत्र हस्तान्तरण कार्यक्रममा मधेस प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष बिचारी यादव, नेता बासुदेव यादव, लियाकत अलीलगायत वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो । नेताहरूले रिमा यादवको उम्मेदवारीले पर्सा–२ मा मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार हुने र पार्टीका एजेन्डा प्रभावकारी रूपमा प्रस्तुत गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनीहरूका अनुसार आगामी निर्वाचनमा जातीय समन्वय, स्थानीय विकास र सामाजिक सेवालाई मुख्य प्राथमिकतामा राखिनेछ ।

पार्टी स्रोतका अनुसार यसअघि पर्सा–२ बाट एमाले केन्द्रीय सदस्य तथा वीरगंजका पूर्व मेयर विजयकुमार सरावगीलाई उम्मेदवार बनाउने प्रयास गरिएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत सरावगीलाई निर्वाचन लड्न आग्रह गरेका थिए । तर सरावगीले प्रतिनिधिसभा निर्वाचन नलड्ने स्पष्ट अडान लिएपछि अन्ततः रिमा यादवलाई टिकट दिइएको हो ।

सरावगी भने आगामी स्थानीय तह निर्वाचनमा पुनः वीरगंज महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने तयारीमा छन् । यसअघिको स्थानीय तह निर्वाचनमा उनी जसपा नेपालका राजेशमान सिंहसँग पराजित भएका थिए । यसैबीच, एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्व मन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवलाई उम्मेदवार बनाएको छ । आइतबार राति मात्र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका प्रदीप यादवलाई पार्टीले सोही क्षेत्रबाट टिकट दिएको हो ।

त्यस्तै, पार्टीले पर्सा–३ बाट पूर्व मन्त्री तथा मधेस प्रदेशसभा सदस्य प्रमोद जयसवाल र पर्सा–४ बाट जगरनाथपुर गाउँपालिकाका पूर्व अध्यक्ष जालिम मियाँलाई उम्मेदवारको रूपमा अघि सारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once