काठमाडौं,०३ माघ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामाथि लुटपाट, आक्रमण र बैंकरमाथि दुर्व्यवहारका घटनाहरू बढ्दै गएपछि नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी र बैंकर्सहरू एकै मोर्चामा उभिएका छन्। बैंकिङ क्षेत्रको सुरक्षा चुनौती बढ्दै गएपछि राष्ट्र बैंकको पहलमा उच्चस्तरीय छलफल सुरु गरिएको हो।
शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाएर बैंक तथा वित्तीय संस्थाहरू र त्यहाँ कार्यरत कर्मचारीको सुरक्षाबारे विस्तृत छलफल गरेका थिए। बैठकमा नेपाल बैंकर्स संघका पदाधिकारीहरू, डेपुटी गभर्नर र राष्ट्र बैंकका उच्च अधिकारीहरू पनि सहभागी थिए।
राष्ट्र बैंकले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पछिल्लो समय बैंकिङ क्षेत्रमा देखा परेका सुरक्षा चुनौती, बैंक विरोधी गतिविधि र कर्मचारीमाथि भइरहेको आक्रमणलाई केन्द्रमा राखेर छलफल गरिएको जनाएको छ।
लुटपाटदेखि आगजनी प्रयाससम्म
बैंकिङ क्षेत्रमा असुरक्षा बढ्दै गएको संकेत पछिल्ला केही गम्भीर घटनाले दिएको छ। पुस २९ गते राति सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुरस्थित नेपाल एसबिआई बैंकको शाखामा लुटपाट भएको थियो। लुटेराहरूले कर्मचारीलाई नियन्त्रणमा राखेर भल्टबाट ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटेका थिए।
यसअघि सप्तरीमा कर्जा बुझ्न गएका ज्योति विकास बैंकका कर्मचारी कुटपिटमा परेका थिए भने सुनसरीमा एनआइसी एसिया बैंकको कार्यालयमै आगो लगाउने प्रयास भएको थियो। यस्ता घटनाले बैंक र बैंकर दुवै असुरक्षित बनेको स्पष्ट देखाएको छ।
‘कर्जा तिर्दैनौँ’ प्रवृत्ति र दुर्व्यवहार
पछिल्लो समय बैंक विरोधी गतिविधि लुटपाटमा मात्र सीमित छैन। बैंकरलाई कुटपिट, धम्की, जुत्ताको माला लगाउने र ‘कर्जा तिर्दैनौँ’ भन्ने अराजक प्रवृत्ति बढ्दै गएको बैंकर्सको गुनासो छ। यसले अब बैंकिङ क्षेत्रलाई परम्परागत जोखिम मात्र नभई ‘दुर्व्यवहार जोखिम’ पनि सामना गर्नुपर्ने अवस्था ल्याएको उनीहरूको भनाइ छ।
वित्तीय प्रणाली जोखिममा
बैंकर्सका अनुसार यस्तो अवस्था नियन्त्रणमा नल्याए दीर्घकालमा वित्तीय प्रणाली नै जोखिममा पर्न सक्छ। बैंकिङ प्रणालीप्रति विश्वास कमजोर हुँदै आर्थिक स्थायित्वमा असर पर्न सक्ने चेतावनी उनीहरूले दिएका छन्।
यसैबीच, बैंकर्स संघ र कर्मचारी संगठनहरू एकजुट भएर सरकारसँग बैंकर र बैंकको सुरक्षा सुनिश्चित गर्न औपचारिक आग्रह गरेका छन्। प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीसँग भेट गरी बैंक विरोधी गतिविधि नियन्त्रणका लागि कडा कदम चाल्न पनि माग गरिएको छ।
राष्ट्र बैंक, प्रहरी र बैंकर्सबीचको यो पहलले बैंकिङ क्षेत्रमा सुरक्षा चुनौतीलाई प्राथमिकताका साथ समाधान गर्ने प्रयासको संकेत दिएको छ।





