Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
19.1 C
Kathmandu

बुध ग्रह हिराले भरिएको वैज्ञानिकको निष्कर्ष !

spot_img

काठमाडौं, ८ साउन । हाम्रो सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् । हालै गरिएको एक अध्ययनले बुध ग्रहको सतहको मुनि हिराको बाक्लो तह हुनसक्ने देखाएको छ । लाइभ साइन्सले प्रकाशित गरेको रिपोर्टमा यस विषयमा जानकारी दिइएको छ ।

चीनको बेइजिंगस्थित सेन्टर फर हाइ प्रेसर साइन्स एण्ड टेक्नोलोजी रिसर्चका वैज्ञानिक तथा शोधका सह लेखक यानहाओ लिनका अनुसार बुध ग्रहको अत्यधिक उच्च कार्वन सामग्रीले यो ग्रहको सतहमुनि केही खास रहेको रहस्य बताउँछ । उनका अनुसार बुध ग्रहमा एक चुम्बकीय क्षेत्र छ, यद्यपि यो पृथ्वीको तुलनामा निकै कमजोर छ ।

स्मरण रहोस् नासाको मेसेन्जर अन्तरिक्षयानले समेत आफ्नो अध्ययनका क्रममा बुध ग्रहको सतहमा असामान्य रुपले काला क्षेत्रहरु पत्ता लगाएको थियो । त्यसलाई ग्राफाइटको रुपमा पहिचान गरिएको थियो । नेचर कम्युनिकेसन्स पत्रिकामा प्रकाशित शोधमा बुध ग्रहको संरचना तथा असामान्य चुम्बकीय क्षेत्रका बारेमा प्रकाश पारिएको छ ।

वैज्ञानिकहरुका अनुसार ग्रहहरूको निर्माण सम्भवतः निकै तातो लाभाको महासागर चिसिएर बनेको हो । यही प्रकारले अन्य स्थलीय ग्रहहरूको विकास भयो । बुध ग्रह सिलिकेट र कार्बनले भरिएको हुनसक्ने अनुमान वैज्ञानिकहरुको छ । ग्रहको बाहिरी पत्र तथा मध्यमण्डलको रुपमा रहेको म्यान्टलको निर्माणचाहिं म्याग्मा पदार्थ क्रिस्टलमा परिणत हुँदा बनेको हो । जबकि धातुहरू यसभित्र पहिले नै जमेर एक केन्द्रीय कोरको निर्माण भयो ।

यसअघि वैज्ञानिकहरूले मध्यमण्डलमा तापमान तथा चापका कारण कार्वन ग्राफाइटमा परिणत हुने तथ्य मान्दै आएका थिए । म्यान्टल अर्थात् मध्यमण्डल भन्दा हलुका भएका कारणले गर्दा यो सतहमा तैरिन्छ । यद्यपि सन् २०१९ मा भएको एक अध्ययनले चाहिं बुध ग्रहको म्यान्टल यसअघि अनुमान गरिएभन्दा ८० किलोमिटर गहिरो हुनसक्ने देखायो । जसका कारण मध्यमण्डल तथा केन्द्रमण्डलको सीमामा तापमान तथा चापमा निकै धेरै वृद्धि हुन्छ । परिणाम स्वरुप यस्तो स्थिति पैदा हुन्छ जहाँ कार्बन तत्व हिरामा क्रिस्टलीकृत हुन्छ ।

बेल्जियम तथा चीनका शोधकर्ताहरुको एक टिमले यही सम्भावनाको खोजी गर्नका लागि कार्बन, सिलिका र फलामको प्रयोग गरी रासायनिक मिश्रण तयार पारे । शोधकर्ताहरुले उक्त मिश्रणमा फरक-फरक घनत्वको आइरन सल्फाइड हालिदिए ।

त्यसपछि मल्टिपल एनभिल प्रेसको प्रयोग गरी रासायनिक मिश्रणलाई ७ गिगापास्कलको दबाब दिए । चापको यो मात्रा भनेको समुद्री सतहमा पृथ्वीको वायुमण्डलीय चापभन्दा ७० हजार गुणा धेरै हो । यो विषम परिस्थिति बुध ग्रहको भित्री भागमा पाइने अवस्थालाई दर्शाउँछ । शोधकर्ताहरुले बुध ग्रहको कोर र म्यान्टलको सीमा नजिक तापमान तथा चापको सटीक मापनका लागि कम्प्युटर मोडेलको प्रयोग गरेका थिए ।

उक्त कम्प्युटर सिम्यूलेसनले ग्रहको भित्रको स्थितिको जानकारी प्रदान गर्दछ । शोधका क्रममा रासायनिक मिश्रण केवल सल्फर मिसाउँदा अधिक तापमानमा जम्दछ । यस्तो स्थितिमा हिरा बन्ने सम्भावना अधिक हुन्छ । उक्त कम्प्युटर मोडलबाट शोधकर्ताहरुले के निष्कर्ष निकाले भने उक्त स्थितिमा बुधको आन्तरिक कोर जम्ने क्रममा हिरा बन्न सक्दछ ।

यद्यपि बुध ग्रहको भित्री भागमा हिरा भएपनि त्यसको उत्खनन भने सम्भव छैन । बुध ग्रहमा अत्यधिक उच्च तापमानका अलावा उक्त सम्भावित हिरा सतहभन्दा ४८५ किमी तल रहेको छ । जसलाई निकाल्न असम्भव छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once