काठमाडाैं, ०४ असार । ६० किलो सुन तस्करीमा जोडिएका थप एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
तिब्बतीयन मूलका चिनियाँ नागरिक गंगा टासीलाई बौद्धबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले लोकान्तरलाई जानकारी दिए ।

बोगटीका अनुसार उनको साथबाट २६ लाख नगद र ६ राउन्ड गोली बरामद भएको छ । चिनियाँ पासपोर्ट बोक्ने उनको साथमा नेपाली नागरिकता र ड्राइभिङ लाइसेन्स समेत भेटिएको बोगटीले बताए ।
टासीको भूमिका चीनबाट सुन ओसार्ने व्यक्तिका रूपमा रहेको खुलेको छ । उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
मोटरसाइकल तथा स्कूटरको ब्रेक सुमा राखेर ल्याइएको सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।
विभागले नै प्रारम्भिक छानबिन गरेर फाइल सुम्पिएको यो विषयमा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ ।





