Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
spot_img
15.1 C
Kathmandu

नेरुडे लघुवित्तको बद्मासी, सम्झौता कार्यान्वयन गर्नुको सट्टा कर्मचारीमाथि नै दमन

spot_img

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ८ वैशाख । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त नेरुडे मिर्मिरे लघुवित्त सँस्था लिमिटेडको दमनको कारण कर्मचारीहरु विचल्लीमा परेका छन् । तत्कालीन नेरुडे लघुवित्त संचालक पक्षले गरेको सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीहरुमाथि दमन गरेको कारण कर्मचारीहरु विचल्लीमा परेका हुन् । हाल नेरुडे र मिर्मिरे लघुवित्त सँस्था एकिकृत रुपमा कारोबार शुरु गरिसकेको छ । तर एकिकृत रुपमा कारोबार गर्ने योजनाभन्दा एक वर्ष अगाडि नै नेरुडे लघुवित्त सँस्था संचालक समिति र कर्मचारी युनियनबीच भएको सम्झौता कार्यान्वयन गराउन खोज्दा संचालक समितिको तर्फबाट प्रहरी प्रशासन लगाई कर्मचारीहरुमाथि दमन गर्ने काम भएकोले कर्मचारीहरु विचल्लीमा परेको बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडे युनियनको केन्द्रिय कोषाध्यक्ष मुकेश कुमार यादवले जानकारी दिए ।

२०८० फागुन ३० गतेदेखि नेरुडे र मिर्मिरे लुघुवित्त सँस्थाले एकिकृत रुपमा कारोबार शुरु गरेको हो । एकिकृत रुपमा कारोबार शुरु हुनु एक वर्ष अगावै २०८० वैशाख ९ गते नेरुडे लघुवित्त वित्तीय सँस्था लिमिटेडको तर्फबाट संचालक सुरेन्द्रराज भट्टराईको संयोजकत्वमा गठित वार्ता कमिटि र युनियनका प्रतिनिधीहरुबीच कर्मचारी एकिकृत कारोबार शुरु भएदेखि लागु हुने गरि कर्मचारी बढुवा एवं चार ग्रेड थप्ने सम्बन्धमा सम्झौता भएको थियो । २०८० फागुन २५ गतेसम्म कर्मचारी बढुवाको विषयमा टुँगो लगाउने र कर्मचारीहरुको तलब समायोजन गर्दा तलब भत्ता सुविधा वृद्धि नभएका नेरुडेका कर्मचारीहरुलाई एकिकृत कारोबार शुरु भएपछि पाउनेगरि सो मितिमा खाईपाई आएको ग्रेडमा ४ ग्रेड थप गरेर तलब समायोजन गर्ने सम्झौता भएको थियो ।

यो सम्झौता दुईपटक भएको हो । एकिकृत कारोबार शुरु गर्ने वित्तिय सँस्थाले योजना ल्याएपछि २०८० वैशाख ९ गते र एकिकृत कारोबार शुरु हुने पक्का भएपछि २०८० फागुन ७ गते दुई पटक सम्झौता भएको हो । तर एकिकृत कारोबार शुरु भएपछि वित्तिय सँस्था पक्षले सम्झौता लागु नगरेपछि कर्मचारीहरु आन्दोलनलाई थप प्रभावकारी बनाउँदै तालाबन्दी गर्नसम्म पुगे । एकिकृत कारोबारको योजना आएदेनि नै कर्मचारीहरुले आफ्नो माग राखी पटक पटक सँस्था संचालक समितिलाई ध्यानाकर्षण गराउँदै आएको र सँस्थाले आश्वासन समेत दिदै आएको र हाल कारोबार शुरु भएपछि आफूले गरेकै सम्झौता कार्यान्वयन नगरेपछि कर्मचारीहरु सशक्त आन्दोलनमा उत्रेका हुन् । कर्मचारीहरु विगत १५ महिनादेखि आन्दोलनरत छन् ।

शुरुमा संचालक पक्षलाई ध्यानाकर्षण गराउनेदेखि वैशाख ३ र ४ गते कार्यालयमा तालाबन्दी गर्दा समेत सँस्था संचालक पक्षले आफैले गरेको लिखित सम्झौता कार्यान्वयन गर्न आनाकानी गरेर प्रशासन लगाई कर्मचारीहरुमाथि जोर जबरजस्ती गरि रहेकोले कर्मचारीहरु विचल्लीमा परेको कोषाध्यक्ष यादवले जानकारी दिए । कारोबार शुरु गर्ने क्रममा २०८१ वैशाख ३ गते दुबै सँस्थाका कर्मचारीहरुबीच परिचयात्मक कार्यक्रम रहेकोमा नेरुडेका शाखा प्रमुखहरुले कार्यक्रम बहिष्कार गरेका थिए र ४ गते फिल्ड कर्मचारीहरु कार्यक्रम बहिष्कार गरेको थियो । कार्यक्रम बहिष्कार गरेकै कारण नेरुडेका कर्मचारीहरुमाथि सँस्था संचालक एवं व्यवस्थापन पक्षले सम्झौता पुरा नगरि एकलौटी रुपमा दमन गरि रहेको उनको भनाई छ ।

उनका अनुसार आन्दोलनको क्रममा हामी कर्मचारीहरुले वैशाख महिनाको ३ र ४ गते कार्यालयमा तालाबन्दी गर्ने निणर्य गरेका थियौं र यसमा ७७ वटै जिल्लाका शाखाहरुले समर्थन जनाएको थियो तर वित्तिय सँस्था संचालक पक्षले प्रहरी प्रशासन लगाएर ताला तोडेको छ, यो सरासर दमन हो’ उनले भने कर्मचारी र सँस्थाबीच विवाद हुँदा दुबै पक्षलाई राखेर सम्झौता गरिन्छ अथवा श्रम अदालतको निणर्यले मात्रै एकतर्फी रुपमा ताला तोड्नुपर्छ तर संचालक पक्षले ऐन नियमलाई धज्जी उडाउँदै प्रहरी प्रशासन लगाई ताला तोडेको छ । संचालक पक्षले एकलौटी रुपमा दमन गर्न खोज्दा तत्कालीन नेरुडे लघुवित्त सँस्था लिमिटेडका करिब ६ सय कर्मचारीहरु विचल्लीमा परेका हुन् । दुबै लघुवित्त सँस्थाले एकिकृत रुपमा कारोबार शुरु गरेपनि नेरुडेका कर्मचारीहरु आन्दोलनमा छन् भने मिर्मिरेका कर्मचारीहरु आन्दोलनमा समर्थन जनाएका छैनन् ।

दुबै सँस्था एकिकृत रुपमा कारोबार शुरु गर्नुभन्दा एकवर्ष अगाडि नै ४ ग्रेड थप्ने, नेरुडेको नियमावली लागु हुने गरि सम्झौता भएको वित्तिय पक्षले आश्वासन दिएकोमा दुबै आश्वासन आश्वासनमै सीमित रहेको कोषाध्यक्ष यादवको भनाई छ । २०८० वैशाख ९ गते भएको सम्झौताको क्रममा नेरुडेको व्यवस्थापनको तर्फबाट वार्ता कमिटि संयोजक सुरेन्द्रराज भट्टराई, सदस्यहरु मणिकुमार अर्याल, सुधिर कुमार श्रेष्ठ, भाग नारायण साहु, ऋषि प्रसाद न्यौपाने, दिनेश कटुवाल, कृष्ण बहादुर खड्का तथा कर्मचारी युनियनको तर्फबाट वार्ता कमिटि संयोजक आजाद आलम, सदस्यहरु भुवन अधिकारी, रामप्रसाद ढुँगाना, प्रमोद कुमार चौधरी, बालकृष्ण भट्टराई, सूर्य बहादुर थापा, राजु कुमार चौधरी तथा शिव कुमार चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once