Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
18.1 C
Kathmandu

लुम्बिनीबाट १२ सय ५० जनाको धम्मयात्रा सुरु

spot_img

बुटवल,३ चैत । बुद्ध जन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरूको धम्मयात्रा सुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले शनिबारदेखि धम्मयात्रा सुरु गरेका हुन् । यात्रा शनिबारदेखि आतबारसम्म हुनेछ ।

श्रामणेरलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले मायादेवी मन्दिर परिसरमा पुष्प अर्पण गरी यात्रा सुरुवात गराएका हुन् । लुम्बिनीबाट सुरु भएको धम्मयात्रा शनिबार भैरहवामा र आइतबार नवलपरासीको रामग्राममा गरिनेछ ।

लुम्बिनीमा धार्मिक गतिविधि बढ्दो बुद्ध शिक्षालाई प्रवर्द्धन गर्ने कोषका कोषाध्यक्ष भट्टराईले बताए । उनले धम्मयात्राले समुदाय तहसम्म बौद्ध शिक्षालाई अघि बढाउने बताए ।

अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरूको सह आयोजनामा फागुन १६ गतेदेखि १२ सय ५० जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो । भिक्षुहरूको जीवनमा धम्मयात्रालाई निकै महत्त्वपूर्ण मानिने र समुदाय तहसम्म बौद्ध शिक्षालाई पुर्‍याउने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरू पालना गर्नुपर्नेछ ।

धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो । ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो । धम्मयात्राको अर्थ कुशल कर्म तिर लाग्नु वा कुशल कर्मसँगै प्रस्थान गर्नु हो । फागुन २६ गते अल्पकालीन भिक्षुहरूलाई प्रव्रज्या गराई पहेँलो चीवर प्रदान गरेका हुन् ।

लुम्बिनीमा भएको १२५० जनाको प्रवज्याले बुद्ध धर्मको शिक्षा र बौद्ध गतिविधिलाई जोडेको लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बताइन । उनले धम्मयात्राले बुद्ध जन्मस्थलको प्रचार प्रसारसँगै बौद्ध गतिविधिलाई प्रवर्द्धन गर्ने बताइन् । फागुन १६ गतेदेखि सुरु भएको प्रव्रज्या चैत ८ गते सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once