Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
25.1 C
Kathmandu

जङ्गली हात्ती धपाउन मोरङमा ड्रोन प्रयोग हुँदै

spot_img

काठमाडौं,०८ पुस । जङ्गली हात्ती धपाउने अनेक उपाय असफल भएपछि मोरङको बेलबारी नगरपालिकाले ड्रोन प्रविधि प्रयोग गरेको छ । यसअघि हात्ती धपाउन आगो, साइरन, डोजर आदिको प्रयोग गर्दै आएको नगरपालिकाले अन्तिम विकल्पका रूपमा शुक्रबार रातिदेखि ड्रोन प्रविधि प्रयोग गरेको हो ।

हात्ती धपाउन ड्रोन प्रविधि प्रभावकारी हुने र हात्तीको कारण मान्छेको ज्यान जाने सम्भावना पनि कम हुने भएकाले यो प्रविधि प्रयोग गरिएको बेलबारी नगरपालिकाका प्रमुख डिलप्रसाद राईले बताए ।

“मंसिर ७ गतेदेखि २७ ओटा जङ्गली हात्ती बेलबारीमा आएका छन्,” टेकपानासँग कुरा गर्दै राईले भने, “अहिले हात्तीको हुल आएको ३१ दिन भइसक्यो । यस नगरपालिकाका ११ वडामध्ये सात ओटा जङ्गलसँग जोडिएका छन् । यसबीचमा हामीले अनेक उपाय अपनायौँ, तर हात्ती भगाउन सकिएन । केही नलागेपछि ड्रोन प्रयोग गर्न सुरु गरेका हाैं ।”

खेतमा धान हुने बेलादेखि बारीमा पल्किएको हात्तीकाे हुल घरमा धान भित्र्याइसक्दा पनि पछ्याइरहेकाे राईले सुनाए । उनका अनुसार हात्ती धपाउने क्रममा सोही नगरपालिकाका एक जनाको ज्यान गएको र दुई दर्जन बढी घरहरू भत्किएका छन् ।

बेलबारी नगरपालिकाका अधिकांश वडा जङ्गली हात्तीका लागि बाटो पर्ने भएकाले पनि क्षति हुने क्रम बढेको थियो । “पहिले केही दिनका लागि मात्र हात्तीको हुल आउँथ्यो । तर, अहिले लामो समयसम्म हात्तीले गाउँ छोडेका छैनन् । हात्ती घरमै आएर धान, चामल, र अन्य अन्नपात खाने गरेका छन् । यसबाट जोगाउन हामीले साइरन प्रयोग गरेका थियौं, सुरुसुरुमा मानेको भएपनि पछि साइरनको आवाजलाई टेर्नै छाेडे,” उनले थपे ।

यसरी सबै तरिका अपनाउँदा पनि नगरपालिका प्रभावकारी रूपमा हात्ती धपाउन सफल भइरहेको थिएन । आफ्नो क्षेत्रतिर हात्तीको आक्रमण बढ्न थालेपछि जीबीएस टीम/नेसनल रोबोटिक्स एन्ड रिसर्च सेन्टर ललितपुरमा कार्यरत अनिल प्रधानले ड्रोनको प्रयोग गरी हात्ती धपाउन सकिने कुरा नगरपालिकालाई बताए ।

“मैले यसअघि पनि ड्रोनको प्रयोग गरेर हात्ती धपाई परीक्षण गरेको थिए । हात्ती मौरीको आवाजसँग डराउने हुँदा ड्रोनको आवाज मौरी भुनभुनाएको जस्तो हुने भएकाले डराउँछ,” प्रधानले टेकपानासँग भने, “अहिले पनि हात्तीको आक्रमण बढेको थाहा पाएपछि स्थानीय निकायसँग कुरा गरी यो प्रविधिको बारेमा बुझाएँ । उहाँहरूले सकारात्मक रूपमा लिनुभयो ।”

ललितपुरस्थित जीबीएस टिमको कार्यालयमा रहेको रोबोट लिन नगरपालिकाले प्रतिनिधि पठायो । उक्त टोलीसँगै अनिल पनि मोरङतर्फ लागे । शुक्रवार उनीहरू मोरङ बेलबारी पुगेर ड्रोन तयारी गरेका थिए । राति ११ बजेतिर ड्रोन उडाएर हात्ती धपाए । त्यसलगत्तै अर्को गाउँमा हात्ती आएको सूचना पाउनसाथ उक्त टोली त्यसतर्फ लाग्यो र त्यहाँबाट पनि हात्ती लखेट्यो ।

“बेलबारीकै एउटा गाउँमा बिहान १ बजे २२ ओटा हात्ती पसेको भन्ने सूचना आएको थियो,” प्रधानले भने, “त्यहाँबाट पनि हामीले ड्रोनकै सहायताले हात्ती धपाएका थियौं ।”

हात्तीलाई ड्रोनको सहायताले भगाएपछि उक्त ठाउँमा हात्ती फर्किएर नआएको नगरप्रमुख राईले जानकारी दिए । उनले भने, “पहिले अरू तरिका अपनाउँदा हात्ती सुरुमा भागेपनि पछि आइहाल्ने गरेको थियो । हिजो (शुक्रबार राति) ड्रोन प्रयोग गरिसकेपछि भने स्थानीय ढुक्कले निदाएका छन् ।”

यसलाई अहिले परीक्षणका रूपमा प्रयोग गरिरहेको भए पनि प्रभावकारी भए जनशक्ति राखेर प्रयोग गर्ने नगरपालिकाकाे याेजना छ । “पहिले हात्ती धपाउन नगर प्रहरी, सशस्त्र प्रहरी, वन रक्षक लगायत अन्य कर्मचारी खटाउनुपर्ने अवस्था थियो । अहिले ड्रोनको प्रयोग गर्दा जनशक्ति पनि कम लाग्ने र खर्च पनि कम हुने देखिएको छ । यो प्रभावकारी भएमा हामी यसैलाई निरन्तरता दिन्छौं,” उनले थपे ।

यता, सुरुवाती समयमा ड्रोन प्रभावकारी नै हुने र दिगो रूपमा हात्तीका लागि यो उपयुक्त विकल्प नहुने वन्यजन्तु संरक्षणकर्मी देवेन्द्रकुमार खरेल बताउँछन् ।

“पछिल्लो समय पूर्वी नेपालमा हात्ती र मानवको द्वन्द्व बढिरहेको छ,” खरेलले टेकपानासँग भने, “एक महिनाको अवधिमा चार जनाको ज्यान गइसकेको छ । मानिसहरूले नियन्त्रित भएर हात्तीसँग व्यवहार गरेनन् । हात्ती देख्ने बित्तिकै लखेट्ने, ढुङ्गा हान्ने, साइरन बजाउने, आगो लगाउने जस्ता गतिविधि बढेपछि हात्तीले मानिसप्रति वैरभाव राख्न थाल्यो । हात्तीको स्मरण शक्ति राम्रो हुने भएकाले एउटा घटनालाई लिएर आक्रमण गर्न थाल्यो ।”

ड्रोनका सन्दर्भमा सुरुवातमा डराए पनि पछि उसलाई कुनै प्रभाव नपर्ने उनको जिकिर छ । यसका लागि सर्वसाधारण सचेत हुनुका साथै स्थानीय निकायले कृषकको धानबाली तथा घर बिमा गरिदिनुपर्नेमा उनले जाेड दिए । यसाे हुँदा मानिसहरू लखेट्न वा जाइलाग्न नजाने र त्यस्ता गतिविधि नभए हात्ती आक्रामक नहुने उनले सुनाए । “ड्रोन केही समयका लागि राम्रै विकल्प हो । तर, दिगो रूपमा यो समस्या समाधानका लागि अर्को विकल्प तयार पार्नुपर्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once