Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
24.1 C
Kathmandu

शुल्क मनपरी लिईरहेको विषयमा प्रश्‍न उठाउँदा प्रअ र अध्यक्षबाटै विद्यार्थीमाथि कुटपिट

spot_img

जनकपुर,२७ मंसिर । सप्तरीको राजविराज नगरपालिका -१६ स्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय बोरियाका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले दुईजना विद्यार्थीलाई कुटपिट गरेका छन् ।

विद्यालयले अर्धवार्षिक परीक्षा र रजिष्ट्रेसन शुल्क मनपरी लिईरहेको विषयमा प्रश्‍न उठाउँदा कक्षा १० मा अध्यनरत विद्यार्थीद्वा विकासकुमार मण्डल र रोसन साहलाई प्रधानाध्यापक रामानन्द सुनरैत यादव र व्यवस्थापन समितिका अध्यक्ष रितेश यादवले मंगलबार विद्यालयको कार्यालय भवनमै कुटेका हुन् ।

कुटपिटपछि आफूलाई नांगो बनाएर भिडियो बनाएको र कसैलाई कुटपिटबारे भनिए भिडियो सार्वजनिक गरिदिने धम्की दिएको घाइते विद्यार्थी विकासले बताए ।

प्रअ र अध्यक्षबाट कुटिएका विद्यार्थीद्वय मण्डल र साह गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारपछि मंगलवबार राती घर फर्किएका छन् । कुटिएका विद्यार्थी मण्डलको आँखामा गम्भीर चोट लागेको छ । मण्डल र साहको शरिरको विभिन्न भाग फलामको रडले कुटिएको निशान देखिएको छ ।

मंगलबार साँझ र बुधबार दिउँसो आक्रोसित विद्यार्थीहरुले प्रधानाध्यापक अध्यक्षलाई कारबाहीको माग गर्दै राजविराजमा प्रदर्शन गरेका छन् ।

नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयले कक्षा ९ को रजिष्ट्रेसन फारम वापत ५ सय रुपैयाँ र कक्षा १० को रजिष्ट्रेसन फारम शुल्क वापत एकहजार रुपैयाँ लिईरहेको थियो । तर रजिष्ट्रेसन शुल्क वापत कक्षा ९ को तीनसय रुपैयाँ र कक्षा १० को लागि ५ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने प्रावधान छ । उक्त प्रावधान विपरीत रकम लिन थालेपछि विरोधमा उत्रिएका विद्यार्थीहरुको अगुवाई गरिरहेका मण्डल र साह कुटिएका हुन् ।

‘अनावश्यक रुपमा रकम लिईरहेकोबारे मैले गरेको प्रतिरोधको साथीहरुले भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा राखे’, घाइते विद्यार्थी विकास मण्डलले भने,‘त्यसैको निहुँ बनाएर हेडसर र अध्यक्षले अफिसमा निर्घात कुटे ।’

प्रधानाध्यापक र अध्यक्षले भने विद्यार्थीलाई कुटपीट नगरेको दाबी गरे । मोबाइल लिन आउँदा अभिभावकलाई बोलाएर ल्याउनु भनेपछि विद्यार्थीले अभद्रता देखाएको र त्यस क्रममा घम्साघम्सी हुँदा टेबुलमा ठोक्किएर चोट लागेको प्रधानाध्यापक यादवको दाबी छ ।

कक्षा ९ का लागि ५ सय र कक्षा १० का लागि एक हजार रजिष्ट्रेसन शुल्क लिईरहेको भने प्रधानाध्यापक यादवले स्वीकारे । ‘कक्षा ९ को रजिष्ट्रेसनको राजश्व दस्तुर तीनसय नै हो तर एकसय रुपैयाँ फारम पठाउनका लागि मसलन्द खर्च वापत् र एकसय रुपैयाँ कक्षा १० को विद्यार्थीको विदाई कार्यक्रमका लागि लिइएको हो,’ उनले भने ।

यस्तै कक्षा १० को लागि रजिष्ट्रेसनको राजश्व शुल्क ५ सय मात्र भएपनि परीक्षापछि ग्रेडिङ सिटको लागि २ सय ५०,प्रयोगात्मक परीक्षाका लागि एकसय ५० र फारम पठाउन मसलन्द वापत एकसय गरि एकहजार लिएको प्रअ यादबले स्वीकारे ।

उनले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालय सुधार सहयोग रकम लिईरहेको दाबी गरे । ‘अतिथी सत्कार,विजुली बिल,पार्ट टाइम शिक्षक,कम्प्युटर शिक्षा,इ-लाइब्रेरीका लागि विद्यार्थीवाट सहयोग शुल्क लिईएको हो’ प्रअ यादवले भने ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डीराज न्यौपानेले घटनाबारे जिल्ला प्रहरीमा जानकारी आएको र दुवैपक्षलाई राखी कुरा बुझ्ने कार्य भईरहेको बताए । साभार कान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once