रौतहट,२४ मंसिर । रौतहटको फतुवा विजयपुर नगरपालिका–२ स्थित सितलपुर गाउँका एक किसानले भित्र्याउन राखेको धानमा अज्ञात समूहले शनिबार राती आगजनी गरेको छ । आगजनीबाट खलियानमा राखेको धान जलेर नष्ट भएको छ । प्रहरीले अनुसन्धान थालेको छ ।
सितलपुर गाउँका स्थानीय किसान लक्ष्मीनारायण यादवको खेतको धान काटेर दाइँ गर्न राखिएको अवस्थामा राति अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट आगोबाट सबै धान जलेर नष्ट भएको पीडित यादवले जानकारी दिए । घटनास्थलमा ईलाका प्रहरी सन्तपुर दोस्तियाबाट प्रहरीको टोली पुगेको छ । आगजनीबाट झण्डै २ लाख ७० हजार बराबरको क्षति भएको पीडित किसान यादवले बताए ।
‘थ्रेसर लगाएर घरमा भित्र्याउन राखेको धानमा कसले आगो लगायो भन्ने अचम्ममा परेका छौ,‘उनलेभने,‘यस्तो हर्कत गर्ने जो कोहीलाई कारबाही हुनुपर्छ । यो योजनाबद्ध तरिकाले गरेको घट्ना हो ।’
यादवका अनुसार केही अराजक समूहले पेट्रोल खन्याएर धानमा आगो लगाएको हुनसक्छ । पीडित यादवले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुका साथै क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।
घटनास्थल पुगेको ईलाका प्रहरीका सहायक हवल्दार हरेराम चौधरीले संलग्नको पहिचान गर्ने प्रयास भईरहेको बताए ।





