Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
26.1 C
Kathmandu

भारतले कम गुणस्तरको चिनी दिने भएपछि २५ हजार टन खरिद प्रक्रिया रोकियाे

spot_img

काठमाडौं, १० मंसिर । भारतले नेपाललाई जी–टु–जी प्रक्रियाअनुसार तिहार अघि नै २५ हजार टन चिनी उपलब्ध गराउने भने पनि अहिलेसम्म उक्त परिणामको चिनी नेपाल आएको छैन । नेपालमा चिनी अभाव भएपछि सरकारले भारतीय दूतावासमार्फत कूटनीतिक पहलमा भारत सरकारसँग चिनी उपलब्ध गराइदिन आग्रह गरेको थियो ।
तर भारतले उपलब्ध गराउने भनेको चिनी कम गुणस्तरीय रहेको र मूल्य उच्च राखेर नेपाललाई उपलब्ध गराउने बुझेपछि चिनी खरिदको प्रक्रिया रोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार नेपालले सिफारिस गरेभन्दा फरक खालको र मूल्य बढी राखेर चिनीको मूल्य निर्धारण गरेपछि चिनीको खरिद प्रक्रिया रोकिएको हो । उहाँले भन्नुभयो, “नेपालले माग गरेको चिनीको गुणस्तर र मूल्य अनुसार भारत सरकारले चिनी नदिने भएपछि नेपालले खरिद नगरेको हो ।” उहाँका अनुसार नेपालले माग गरेको ३२–३३ साइजको चिनी भारतले उपलब्ध नगराई ३०–३१ साइजको चिनी उपलब्ध गराउने जनाएपछि तत्काल ल्याउने प्रक्रिया रोकिएको उहाँको भनाइ छ ।
ठाकुरले भन्नुभयो,“हामीले मध्यम खालको ३२–३३ साइजको चिनी माग गरेका थियौँ तर भारतले ३०–३१ साइजको चिनी उपलब्ध गराउने जनाएको थियो । जुन कम गुणस्तरको हो । त्यसपछि चिनी खरिद प्रक्रिया रोकेका छौँ ।” कम गुणस्तरको चिनी धुलो खालको हुनुभएको र यो चिनी खानको लागि उपयुक्त नहुने उहाँको भनाइ छ । चिनीको खरिद मूल्य बजार भाउको तुलनामा बढी राखेर भारतले बिक्री गर्ने भएकाले मूल्य पनि बढी र कम गुणस्तरको चिनी भएको कारण ल्याउन नसकिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “भारतले नेपाललाई उपलब्ध गराउने धुलो चिनी बजार मूल्यभन्दा बढी राखेर नेपाललाई बिक्री गर्ने जनाएको थियो । नेपाललाई ५४ रुपियाँ भारतीय मूल्यमा उपलब्ध गराएको थियो । जुन बजार मूल्यभन्दा बढी हो । त्यो महँगो गुणस्तरहीन चिनी ल्याएर उपभोक्तालाई खुवाउन हामी सक्दैनौँ ।”

अव नेपालमा ठुला चाडपर्व पनि सकिएको र उखु काट्ने सिजन पनि सुरु भएकाले चिनीको खासै अभाव झेल्नु नपर्ने उहाँ बताउनुहुन्छ । “अहिले पनि बजारमा पहिलेजस्तो चिनीको हाहाकार छैन ।ठुला चाडपर्व सकिएका छन् । उखु काट्ने समय आएको छ । अब चिनीको उपलब्धता सहज बन्दै जान्छ ,”ठाकुरले भन्नुभयो ।

नेपालको तर्फबाट भारत सरकारलाई गुणस्तरीय चिनी उपलब्ध गराउनको लागि पत्र पठाइएको र भारत सहमत भए चिनी ल्याउन १५–२० दिन लाग्ने उहाँको भनाइ छ ।
नेपालमा अहिले एक लाख ५० हजार टन चिनी उत्पादन हुने गरेको छ भने माग तीन लाख टन हुने गरेको छ । अपुग चिनी बाहिरबाट नै ल्याउनुपर्ने बाध्यता हुँदा चाडपर्वको समयमा चिनीको अभाव नै हुने गरेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once