Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
26.1 C
Kathmandu

यो साता सम्हालियो सेयर बजार, माइक्रोफाइनान्स घट्दा बीमा चम्कियो

spot_img

काठमाडौं,८ मंसिर । सूचीकृत कतिपय कम्पनीले गत सातासम्म नोक्सानीमा गएको पहिलो त्रैमासिक वित्तीय विवरण निकाले । खस्किँदो व्यापार स्थिति, ऋणात्मक प्रतिसेयर आम्दानीजस्ता कारणले ती कम्पनीको मूल्य घट्दा बजार पनि केही दिन प्रभावित बन्यो । अहिले फेरि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गरिरहेको छ । यो समूहले बैंक तथा वित्तीय संस्थाबाट लिएको २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गरिनुपर्नेजस्ता व्यवस्थाविरोधी माग तेस्र्याएको छ । बेलाबखत देशमा हुने गरेका यस्ता आन्दोलनले पनि सेयर बजारलाई अल्पकालीन रुपमा प्रभाव पार्ने गरेको पाइन्छ ।

कम्पनीहरुको खराब वित्तीय विवरण र आन्दोलनका बाबजुत पनि यो साता सेयर बजार सम्हालिएको छ । यो बेला सम्हालिएर अनुभवी सेयर लगानीकर्ताले खरिद बढाएका छन् । यो साता सेयर बजार घट्न पाएन, बरु ८ अंक बढेको छ । तिहारअघि १८५२ विन्दुमा रहेको सेयर बजारको परिसूचक यो साता १८६० विन्दुमा कायम भयो । तिहारपछिको पहिलो कारोबार दिन सोमबार १ अंक बढेको बजार मंगलबार भने २३ अंक घट्न गयो । बुधबार २१ र बिहीबार ९ अंक बढेसँगै बजार सम्हालिएको छ ।

अंक मात्रै बढेको छैन, सेयर कारोबार रकम पनि बढेको छ । तिहारअघिको अन्तिम कारोबार दिन ८३ करोड, अघिल्लो दिन ७८ करोड रुपैयाँको धितोपत्र कारोबार भएको थियो । यो साताका कुनै पनि दिन सोभन्दा कमको कारोबार भएन । तिहारपछि खुलेको पहिलो कारोबार दिन सोमबार १ अर्ब ९ करोड, मंगलबार ९५ करोड, बुधबार १ अर्ब ८ करोड र बिहीबार १ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

यसरी अंकसँगसँगै कारोबार रकम बढ्नु भनेको बजारमा थप पैसा आउनु रहेको बताउँछन् सेयर लगानीकर्ता पिताम्बर खकुरेल । ‘बजार १८ सयको लाइनमा आउँदा अनुभवी र संस्थागत लगानीकर्ताले खरिद बढाउने गरेको पाइन्छ,’ उनले भने, ‘बजार सपोर्टनजिक आउँदा केही साना लगानीकर्ता आन्दोलनका कारण डराएको पनि देखिन्छ ।’

साना लगानीकर्ता चरम डरमा रहेकै बेला अनुभवीले किन्ने गरेको उनको बुझाइ छ । ‘यस्तै चरम डर भएका बेला, बजार घटेर न्यूनतम विन्दुमा आएका बेला खरिद गर्नेहरुले घाटा खानुपर्दैन, अनुभवी पनि यस्तै बेला प्रवेश गर्छन्,’ उनले भने । १८०० को लाइनमा पटक पटक बजारले सपोर्ट पाएर बढेकाले यो पटक पनि त्यही स्थिति देखिने उनको दाबी छ ।

बजारलाई सबैभन्दा धेरै असर ब्याजदरले पार्ने गरेकोमा ब्याजदर घट्दो क्रममा रहेकाले अबका दिन बजारका लागि सुखद् हुने उनको दाबी छ । कात्तिक मसान्तसम्म व्यक्तिगत मुद्दतीमा ११ प्रतिशतसम्म ब्याज दिएका बैंकहरुले मंसिरदेखि भने अधिकतम १०.६० प्रतिशतमा झारेका थिए । यसले आधार दर घट्न गई कर्जाको ब्याजदर पनि थप घट्न जानेछ । ब्याजदर घट्दा एकातिर कर्जा लिएर सेयर बजारमा आउने रकम बढ्न जान्छ भने अर्कोतर्फ बैंकमा निक्षेप राख्नेले पनि न्यून ब्याजदर लिनुभन्दा घटेका बेला सेयर खरिद गर्न लगानीकर्ता उपयुक्त ठान्छन् । त्यसकारण ब्याजदर र सेयर बजारको उल्टो सम्बन्ध रहँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once