Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

राष्ट्रपतिबाट कैद माफी पाएका लोकबहादुर हत्या आरोपमा पक्राउ

spot_img

बीरगन्ज,०२ कार्तिक । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाएका युवक जेलबाट छुटेको एक महिना नपुग्दै हत्या आरोपमा पुनः पक्राउ परेका छन्।

रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-९ का ३३ वर्षीय लोकबहादुर विकलाई हत्या आरोपमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो।

रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार उनलाई मुसिकोट नगरपालिका-७ साँखुकी २७ वर्षीया भावना बिकको हत्या आरोपमा पक्राउ गरिएको हो।

गत असोज ३० गते बिहान खलंगाको सत्कार होटलमा हत्या गरिएको अवस्थामा भावनाको शव फेला परेको थियो। उनको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेपछि शवलाई शिरकले छोपेर राखिएको अवस्थामा भेटिएको थियो।

प्रहरी अनुसन्धानका अनुसार लोकबहादुर र भावना असोज २८ गते सोही होटेलको कोठा बुक गरि बसेका थिए ।

त्यसको भोलिपल्ट कोठामा ताला लगाएर लोकबहादुर फरार भएका थिए। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको हतियार पनि बरामद गरेको थियो। सोही दिन पक्राउ परेका लोकबहादुरलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।

भावनाको श्रीमान र लोकबहादुरकी श्रीमती वैदेशीक रोजगारमा छन्। लोकबहादुर र भावनाबीच विवाहोत्तर सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सोही सम्बन्धका कारण भावनाले आफू गर्भवती भएका कारण विवाहको प्रस्ताव गरेकी थिइन्। विवाहका लागि दबाब दिएका कारण उनको हत्या गरेको लोकबहादुरले बताएका छन्।

उनीहरूबीच लेनदेनको पनि विवाद रहेको प्रहरीले जानकारी दिएको छ।

लोकबहादुरले भावनाको श्रीमानलाई वैदेशिक रोजगारमा पठाउन केही रकम दिएको र त्यो फिर्ता माग्दा भावनाले नदिएको प्रहरीसँग बताएका छन्। विवाहोत्तर सम्बन्ध लुकाउनका लागि उनले भावनाको हत्या गरेको बताएका छन्।

‘हत्याको कारण दुई जना बीचको विवाहोत्तर सम्बन्ध र लेनदेनजस्तो देखिएको छ,’ डिएसपी भट्टराईले भने, ‘भावनाले आफू गर्भवती रहेको हुँदा विवाह गरौं भनेपछि हत्या गरेको हुँ भन्ने आरोपितको बयान छ।’

भावना र लोकबहादुरको चिनजान गत मंसिरबाट मात्रै भएको हो। प्रहरीका अनुसार गत मंसिरको निर्वाचनमा म्यादी प्रहरीमा भर्ती भएकी भावना लोकबहादुरको घर क्षेत्रमा खटाइएकी थिइन्।

त्यही समयमा चिनजान हुँदै उनीहरूबीच प्रेम सम्बन्ध भयो। बीचमा लोकबहादुर जेल परे। उनलाई बहुविवाह मुद्दामा रूकुम पश्चिम जिल्ला अदालतले ११ महिना जेल सजाय सुनाएको थियो।

भावना लोकबहादुरलाई भेट्न पटक-पटक जेल पनि गएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

६ महिना कैद भुक्तानी गरेपछि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिदिएपछि उनी जेलमुक्त भएका थिए।

छुटेको महिना दिन नपुग्दै उनले भावनाको विभत्स हत्या गरेका हुन्। उनीहरू दुबै जनाका छोरा र छोरी छन्।

लोकबहादुरविरूद्ध बुधबार भावनाकी सासु उजेली कामीले कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएकी छन्। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको डिएसपी भट्टराईले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once