Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
18.1 C
Kathmandu

बजारमा सहजै पाइन थाल्यो चिनी, प्रतिकिलो ११५ रूपैयाँ

spot_img

वीरगंज,०१ कार्तिक । अब उपभोक्ताले बजारमा सहजै चिनी किन्न पाउने भएका छन्।

दसैंको मुखमा चिनीको हाहाकार भएपछि वाणिज्य विभागले उद्योगलाई चिनी दिन आग्रह गरेको थियो।

सोही अनुरूप एभरेष्ट सुगर मिलले चिनी दिन थालेको वाणिज्य विभागका महानिर्देशक तीर्थ चिलुवालले जानकारी दिए।

‘चिनी बजारमा आउन थालिसक्यो,’ उनले भने, ‘अब समस्या छैन।’

उनकाअनुसार उद्योगमा पेप्सी, कोकाकोलालगायत कम्पनीले माग (अर्डर) गरेको चिनी मौज्दात छ। सोही चिनी उद्योगले अहिले बजारमा पठाएको हो।

उद्योगबाट बुधबार (आज) ४ ट्रक चिनी बजारमा आइसकेको छ। सो परिमाणको चिनी काठमाडौं उपत्यकाका सबै खुद्रा पसलमा जानेछ।

‘अब भोलि १० ट्रक आउँछ,’ उनले भने, ‘व्यापारीले पैसा दिने बित्तिकै उद्योगले चिनी उपलब्ध गराउँछ।’

उनकाअनुसार उद्योगबाट सिधै खुद्रा व्यापारीले चिनी ल्याउँछन्। व्यापारीलाई आफूले खरिद गरेको मूल्यमा दुईदेखि तीन रूपैयाँ मात्रै नाफा राखेर बेच्न आग्रह गरिएको छ।

‘उद्योगबाट सिधैं ल्याउँदा व्यापारीलाई एक सय ११ रूपैयाँ ५० पैसा जस्तो पर्छ’ उनले भने, ‘उपभोक्ताई एक सय १५ रूपैयाँभन्दा बढीमा बेच्न पाइँदैन।’

चिनी ल्याएर खुद्रा बजारमा पठाउन सुरू भइसकेको खुद्रा व्यापार संघका कोषाध्यक्ष ध्रुब अधिकारीले बताए।

‘हामीले चिनी पाएर बजार पठाउन सुरू गरिसकेका छौं,’ उनले भने।

उनकाअनुसार ग्राहकलाई प्रति परिवार दुई किलोका दरले चिनी उपलब्ध गराइनेछ।

चाडबाडका बेला सबैलाई चिनीको आवश्यक पर्ने भएकाले अनावश्यक चिनी किनेर नथुपार्न उनले ग्राहकलाई आग्रह समेत गरेका छन्।

‘हाम्रोमा परिवारको तथ्यांक त छैन तर हामीले आग्रह गर्ने हो,’ उनले भने, ‘कसैको घरमा चिनी मौज्दात हुनु, कसैले नपाउन त भएन नि।’

पसलमा चिनी आएर ग्राहकलाई बेच्न थालिसकेको काठमाडौंका खुद्रा व्यवसायी चन्द्र थापा बताउँछन्।

‘बजारमा चिनी आइसक्यो। हामीले बेच्न सुरू गरिसक्यौं,’ उनले भने।

हिजोअस्ति चिनी नभएर खाली हात पठाएका ग्राहकलाई अहिले चिनी दिएर पठाउन पाउँदा खुशी लागेको उनले बताए।

उपभोक्तालाई आफूलाई आवश्यक पर्ने भन्दा बढी चिनी नलैजान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुर पनि आग्रह गर्छन्।

‘अब चिनी सहज भइसकेको छ,’ उनले भने, ‘आवश्यक मात्रामा मात्रै चिनी लैजादा राम्रो।’

उनकाअनुसार एक दुई महिनाका लागि मात्रै बजारमा चिनीको समस्या देखिएको हो। मंसिर–पुसदेखि उखु क्रसिङ सुरू हुन थाल्छ। त्यसपछि यहीँ चिनी उत्पादन हुन्छ।

‘मंसिर–पुसदेखि हाम्रै चिनी उत्पादन हुन्छ। त्यो बीचको माग धान्न साल्ट ट्रेडिङ र खाद्य कम्पनीले चिनी ल्याउँछन्।’

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०/१० हजार टन चिनी ल्याउन अनुमति पाएका छन्।

जसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ दिने म्याद सहित असोज १० गते टेण्डर आह्वान गरेको हो। जसको अवधि कात्तिक २५ गते सकिन्छ।

साल्ट ट्रेडिङले आह्वान गरेको टेन्डरको म्याद असोज २० गते सकिसकेको छ। चिनी ल्याउन प्रक्रियामा गइसकेको साल्ट ट्रेडिङले जानकारी दिएको छ।

त्यस्तै, सरकारले जिटुजी प्रक्रियामार्फत् पनि चिनी ल्याउन कूटनीतिक पहल गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once