काठमाडौं, ४ असाेज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेको भन्दै यसप्रति सचेत हुन अपिल गरेका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले सामाजिक सहिष्णुता र सौहार्दतालाई कमजोर पार्ने गतिविधिहरु भइरहेको बताएका छन्।
उनले नेपालको बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान रहेको भन्दै आपसी एकता, सहिष्णुता र सौहार्दतालाई कुनैपनि हालतमा कमजोर हुन दिनु नहुने बताए । उनले सहिष्णुता कमजोर पार्ने प्रयत्नका बिरुद्धमा सरकारले कानूनी र प्रशासनिक रुपमा हस्तक्षेप गर्ने स्पष्ट पारे ।
यसको निम्ति सबै सचेत हुनुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरे । मन्त्री श्रेष्ठले अर्थतन्त्रमा देखापरेका समस्याहरुका कारणपनि समाजमा अस्थिरता र अराजकता उत्पन्न भएको बताए । उनले समाजमा ‘हेट स्पिच’ बढेर गएको भन्दै यसलाई सरकारले गम्भिरतापूर्वक लिएको बताए । सामाजिक सञ्जालमा व्याप्त ‘हेट स्पिच’लाई नियमन गर्न सरकारले सरसल्लाह गरिरहेको उनले बताए ।
उनले भने, ‘हाम्रो देशको जो मौलिक विशेषता रह्यो बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकमा विविधताको बिच एकता, सहिष्णुता र सौहार्दता हाम्रो देशको, हाम्रो समाजको मौलिक पहिचान र विशेषता रहिआएको हो । तर त्यसमाथि अहिले केही समय यता त्यसलाई कमजोर पार्ने प्रयत्न वा गतिविधि भइराखेका छन् । कुनैपनि हालतमा हामीले यो विविधताबीच एकता, सहिष्णुता र सौहार्दताको यो पक्षलाई कमजोर हुन दिनुहुँदैन । यो प्रशासनिक तवरबाट मात्रै हल गर्ने विषय होइन भन्नेमा सरकार छ । त्यसको अर्थ कानूनलाई लागु नगर्ने भन्ने कुरा पनि हुन सक्दैन । कानून र प्रशासनले जति समयमै हस्तक्षेप गर्नुपर्छ त्यो गरिनेछ । तर हामी सबैले हाम्रो समाजमा, हाम्रो मुलुकमा देखापरेको यो नकारात्मक पक्ष जो छ, त्यसप्रति सचेत हुँदै आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने आवश्यकता छ । त्यसको निम्ति म विशेष अपील सबैसँग गर्न चाहन्छु ।’
गृहमन्त्री श्रेष्ठले सरकारले दलित र महिलामाथि हुने उत्पीडन र विभेदलाई प्रभावकारी ढंगले नियन्त्रण गरी अपराधी र दोषिलाई कारबाही गर्ने कुरालाई विशेष अभियानको रुपमा अगाडी बढाएको बताए । त्यस्तै जेल सुधार पनि अभियान अगाडी बढाउन खोजिएको उनको भनाइ छ । उनले नागरिकता नियमावली पारित भइसकेको उल्लेख गर्दै केही दिनमै राजपत्रमा प्रकाशित हुने र नागरिकता वितरणलाई सहज बनाइने बताए । नागरिकताको दुरुपयोगको सम्बन्धमा पनि गम्भिरतापूर्वक अनुसन्धान भइरहेको र दोषि उपर आवश्यक कारबाही हुने उनले स्पष्ट पारे ।
मन्त्री श्रेष्ठले गृह मन्त्रालय अन्तर्गत योग र ध्यानलाई अनिवार्य बनाउन लागिएको जानकारी दिए । कार्यालय आएपछि १५ मिनेटसम्म ध्यान गर्नैपर्ने व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।
उनले ध्यान विज्ञानको पहिलो प्रशिक्षणको उद्घाटन असोज ६ गते राष्ट्रपतिले उद्घाटन गर्ने पनि उहाँले जानकारी गराए । ध्यानले व्यक्तिका साथै सुशासनको अभियानलाई पनि फाइदा गर्ने उनको भनाइ छ ।





