Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
19.1 C
Kathmandu

तराई–मधेश चिसोको चपेटामा, पराल र घुरको भरमा विपन्न समुदाय

spot_img

गौर (रौतहट), ८ पुस । केही दिनयतादेखि दिनदिनै चिसो बढ्दै गएको छ । स्याँठ चल्न थालेको छ । साँझपख हुस्सु लाग्न थाल्छ भने बिहान घाम नआउँदासम्म कुहिरोले सम्पूर्ण वातावरण ढाकिदिन्छ । पछिल्ला चार दिनदेखि तराई मधेसका जिल्लाहरू अत्यधिक चिसोको चपेटामा परेको छ । रौतहटसहित आसपासका जिल्लामा चिसोले जनजीवन गम्भीर रूपमा प्रभावित बनाएको छ ।

चिसोको प्रहार सबैलाई समान रूपमा परेको छैन । गरिब, दलित र विपन्न समुदायहरू यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् । चिसो बढेसँगै उनीहरूको दैनिक जीवन झनै कठिन बनेको छ । बस्ती–बस्तीमा मानिसहरू घुर तापेर बस्न बाध्य देखिन्छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित मुसहर बस्तीका स्थानीय चरनदेव माझी भन्छन्, ‘हाम्रो समुदायमा धेरै मानिससँग जाडोमा लगाउने न्यानो कपडासमेत छैन । जाडो छल्ने मुख्य उपाय भनेकै घुर ताप्नु हो ।’ उनका अनुसार रौतहटका १८ वटै स्थानीय तहमा विपन्न परिवारको दैनिकी अत्यधिक चिसोका कारण निकै कष्टकर बनेको छ ।

कतिपय परिवारले सुत्नका लागि पराल ओछ्याएर, त्यही पराललाई ओढेर रात बिताउने गरेका छन् । मुसहर बस्तीका धेरै घरमा खाटसमेत छैन । चन्द्रपुर–९ चेतनगरकी ६० वर्षीया देवरतिया देवी झुप्रो घरमा भुइँमै पराल ओछ्याएर गुन्द्री ओढी रात काट्ने गरेको बताउँछिन् ।

‘न्यानो लुगा किन्ने हैसियत छैन,’ उनी भन्छिन्, ‘भुइँमा पराल ओछ्याएर, गुन्द्री ओढेर सुत्छौं । धेरै चिसो भयो भने चुलोमा आगो बालेर रात कटाउँछौं ।’ सामाजिक सुरक्षा भत्ताको भरमा जीवन निर्वाह गरिरहेकी देवरतिया देवी त्यो रकम पर्याप्त नभएको गुनासो गर्छिन् ।

चिसोले विशेषगरी बालबालिका, बिरामी, सुत्केरी महिला तथा वृद्धवृद्धालाई बढी असर पुर्‍याएको छ । शिक्षा, स्वास्थ्य र पोषणको पहुँचबाट पहिले नै पछाडि परेका समुदायहरू थप समस्यामा परेका छन् । दलित अगुवा सुनेलाल राम भन्छन्, ‘राज्यले राहत बाँडेर मात्रै समस्या समाधान हुँदैन । दीर्घकालीन रूपमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सके मात्र विपन्न परिवारले चिसोसँग जुध्ने आर्थिक क्षमता विकास गर्न सक्छन् ।’

यता, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले चिसो प्रभावितहरूको तथ्यांक संकलन तथा राहत वितरणका लागि विपद् व्यवस्थापन समिति र स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको जानकारी दिए । उनका अनुसार चिसोबाट जोगिन आवश्यक न्यानो कपडा, दाउरा लगायतका राहत सामग्रीको तयारी भइरहेको छ ।

अझ चिसिँदैछ तराई
यसैबीच, जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म तराई मधेसका जिल्लाहरूमा चिसो अझ बढ्ने पूर्वानुमान गरेको छ । विभागले सोमबार जारी गरेको बुलेटिनअनुसार कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लाग्ने क्रम यथावत् रहनेछ । दिनहुँ अपरान्हपछि मौसममा केही सुधार आउने सम्भावना रहे पनि बिहान र रातको समय अत्यधिक चिसो रहने जनाइएको छ ।

ढिलासम्म हुस्सु र कुहिरो लागिरहने भएकाले विमानस्थलहरूमा भिजिबिलिटी कम भई हवाई उडानहरू प्रभावित हुने देखिएको छ । चिसो अझ बढ्ने भन्दै विभागले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

मधेश प्रदेशका मौसमी तथ्यांक मापन केन्द्रहरू जनकपुर र सिमरामा सोमबार न्यूनतम तापक्रम क्रमशः १०.६ र १२.६ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार सिमरामा १६.२ र जनकपुरमा १९.४ डिग्री सेल्सियस तापक्रम रहेको थियो । त्यस्तै, सोमबार धनगढीमा सबैभन्दा कम ८.२ र नेपालगञ्जमा ९.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको विभागले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको र आगामी दिनमा अझै जाडो महसुस हुने मौसमविद्हरूको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once